बागमती


लामाको सिफारिस बानियाँले लत्याए, क्याबिनेटमा अटाएनन् यी तीन सांसद

‘सहमति किन पालना भएन, शीर्ष नेतृत्वलाई सोध्छौँ’
लामाको सिफारिस बानियाँले लत्याए, क्याबिनेटमा अटाएनन् यी तीन सांसद

सुनिता विष्ट
साउन ३०, २०८२ शुक्रबार २१:४, हेटौँडा

बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए।

मुख्यमन्त्री बानियाँले ५ मन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेपछि नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन्। 

त्यसो त, कांग्रेसभित्रको किचलोका कारण बागमती प्रदेशमा सरकार नै परिवर्तन भयो। आफ्नै दलभित्रको विवाद सतहमा आउँदा सरकारको नेतृत्व गरिरहेका तत्कालीन संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो।

मुख्यमन्त्री बन्न लागिपरेका बानियाँले आफ्नो पक्षमा २२ सांसदलाई उभ्याए। आफ्नै दलका २२ सांसदको हस्ताक्षरले लामा नेतृत्वको सरकार ढल्यो। १३ पुस २०७९ मा २१ सांसदको मत पाएर दलका नेता बनेका लामालाई उतिबेला मत दिने सांसदहरूले नै साथ छोडे। 

दलका नेतामा पराजित भएका लामाले पार्टी शीर्ष तहको निर्देशन मानेर मुख्यमन्त्री पदबाट राजीनामा पनि दिए। राजीनामा दिनुअघि मुख्यमन्त्री बानियाँ र पार्टी सभापति शेरबहादुर देउवा समक्ष उनको एउटै शर्त थियो, आफ्ना तीनजनालाई मन्त्री बनाउने।

सभापति देउवाले पटक/पटक लामा समूहलाई मन्त्री नियुक्तिको आश्वासन दिए। राजीनामा दिनेबेला सभापतिकै निर्देशन मानेर राजीनामा दिएका लामाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिनुअघि पनि देउवा निवास बूढानीलकण्ठ धाएर मन्त्री नियुक्त गर्न बिन्ती बिसाए।

सभापति देउवाले ‘अहिले हेटौँडा पुगेर विश्वासको मत दिनू, तपाईंहरूको माग पूरा गराउन म बानियाँजीलाई भनौँला’ भनेर आश्वासन दिएपछि पनि मन्त्री नियुक्तको बटमलाइनमा बसेका लामा समूह बीचबाटोमा आएर बार्गेनिङ गरेर बसे। 

विश्वासको मत पछि तीनैजनालाई सरकारमा सहभागी गराउने बानियाँको वचन र प्रदेश सभा जान पार्टी शीर्ष तहबाट सांसदहरूलाई पालैपालो फोन आउन थालेपछि लामा समूह प्रदेश सभा भवन परिसरमा प्रवेश गरेका थिए। सो पश्चात् पनि कांग्रेसका लामा समूह र मुख्यमन्त्री बानियाँ १० मिनेट दलको कार्यालयमा बैठक बसे।

मन्त्री नियुक्त गरिदिने सहमति पश्चात् प्रदेश सभा बैठक कक्षमा प्रवेश गरेका लामा समूहले बानियाँलाई गत मंगलबार साँझ विश्वासको मत पनि दिए। 

बिहीबार (हिजो) मुख्यमन्त्री बानियाँ मन्त्री नियुक्तिको तारतम्य मिलाउन काठमाडौँ गए। पार्टी सभापति निवासदेखि शीर्ष तहका नेतासम्म भेटेका उनले सुटुक्क आफू निकटका ५ मन्त्रीको नाम गोजीमा हाले। शुक्रबार (आज) ती ५ जना मन्त्री नियुक्त हुने सांसदहरूलाई तयार हुन भन्दै हेटौँडा लिएर आए। त्यतिबेलासम्म कांग्रेसकै धेरैजसो सांसदहरू आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्नेमा अनभिज्ञ देखिन्थे।  

त्यसोत, हाल बानियाँ नेतृत्वको बागमती मन्त्रिपरिषद्मा रहेका कांग्रेसका सबै मन्त्री उनी निकटका हुन्। लामा विरुद्धको अविश्वासको प्रस्तावमा सघाउने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उनले मन्त्री नियुक्त गरेका हुन्। बानियाँको यो कदमले लामा समूहका सांसदहरू रुष्ट देखिएका छन्। 

लामा समूहले मन्त्रीका लागि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङको नाम अघि सारेको थियो। जसरी पनि यी तीनजनालाई मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइन लामा समूहको थियो। तर बानियाँले निर्वतमान मुख्यमन्त्री लामालाई खबरै नगरी सुटुक्क मन्त्री नियुक्त गरेको लामा समूहका सांसद गोविन्द लम्साल बताउँछन्। 

‘आज मन्त्रिपरिषद् विस्तार गरिँदैछ भन्ने समेत थाहा भएन, मुख्यमन्त्रीज्यूले एकलौटी ढंगबाट चल्न थाल्नुभयो, लम्सालले भने, ‘हामीले थाहा पाउँला भन्ने डरले होला पूर्वमुख्यमन्त्री ज्यूलाई समेत थाहा दिनुभएनछ। अरु त त्यस्तै हो, अब हामी हाम्रो पार्टीको शीर्ष तहका नेताहरूलाई सोध्छौँ। उहाँहरूसँग गरेको सहमति हामीले पालना गर्नुपर्ने। मुख्यमन्त्रीज्यूलाई चाहिँ किन छुट? यो सोध्न हामी शीर्ष नेताहरू भेट्न जाने सल्लाह गरेका छौं।’

यता, मुख्यमन्त्री बानियाँ भने कांग्रेसभित्र कुनै समूह र गुट नभएको बताउँछन्। लामा दलको नेता भएका बेला आफू नबोलेको भन्दै अब आफूलाई पनि चुपचाप काम गर्न दिनुपर्ने मुख्यमन्त्री बानियाँले बताए।

कुल ३७ सिट रहेको कांग्रेसभित्रबाटै मन्त्री नियुक्ति गरिएको बताउँदै उनले भने, ‘विगतमा मेरो पक्षमा १६ सांसद थिए। लामाको पक्षमा २१ थिए। अहिले मेरो पक्षमा २२ देखिनुभयो, उहाँको पक्षमा १४ हुनुहुन्छ। तर सबै मिलाएर हुने संख्या ३७ नै हो। ३७ भित्रबाटै मन्त्री बनाइएको हो। पहिला बहादुर जीको नेतृत्वमा सरकार हुँदा मैले केही नबोली सहयोग गरेँ। अब म नेतृत्वमा छु। दलको नेता हुँ। मैले गरेको निर्णयमा समर्थन जनाउन पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad