बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत आफ्नो मासिक पारिश्रमिकबाट निर्वाचन क्षेत्रभित्र एक अति सीमान्तकृत परिवारलाई घर बनाइदिने घोषणा गरेका छन्।
मंगलबार मुख्यमन्त्रीको शपथ खाएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा बानियाँले उक्त जानकारी गराएका हुन्।
यस्तै बैठकले बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई दिएको छ।
बैठकले प्राकृतिक विपद्लाई ध्यान दिँदै सरकारी तथा अन्य निकायलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत समन्वयकारी ढंगले परिचालन गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता तामाङका अनुसार, प्रदेशभित्र उद्धार, राहत तथा प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
उनका अनुसार उक्त संयन्त्रको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री हुनेछन् भने सम्बन्धित प्रशासनिक निकायका प्रमुख सदस्यका रूपमा रहनेछन्।
संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्न समेत बैठकले निर्देशन दिएको छ।
यसैगरी बैठकले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण वास गुमाएका नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ।
बाढी-पहिरोबाट क्षतिग्रस्त सडकलाई केन्द्र सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा स्थानीय तहसँगको समन्वयमा तत्काल मर्मत गरी सवारी आवागमन सहज बनाउने निर्णय पनि प्रदेश मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले प्रदेशसभाबाट पारित संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ।
साथै अति विपन्न तथा सीमान्तकृत समुदाय तथा वनकरियाको उचित वासस्थान व्यवस्थापनलाई विशेष प्राथमिकता दिने बताइएको छ।
यस्तै आर्थिक अभावका कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गर्न निर्णय पनि बागमती मन्त्रिपरिषद्ले गरेको छ।
बानियाँअघि उनकै पार्टी कांग्रेसका नेता बहादुरसिंह लामा मुख्यमन्त्री थिए। तर बानियाँले उनीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराएर लामालाई संसदीय दलको नेताबाट हटाए र चुनाव गराई आफू विजयी हुँदै दल नेता आफू बने।
त्यसपछि आफ्नो दल कांग्रेसका ३७ र सत्ता साझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदका लागि सोमबार दाबी पेस गरेका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार नियुक्ति दिएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त बानियाँसँगै मंगलबार अन्य ८ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ खाएका छन्।
कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ खाएका हुन्। तामाङलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिए पनि अधिकारीको मन्त्रालय तोक्न बाँकी छ।
उनीहरूसँगै मंगलबार एमालेका ६ सांसदले पनि मन्त्री पदको शपथ खाएका छन्।

जसमा मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, विन्दु श्रेष्ठ उद्योग मन्त्री, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, किरण थापा स्वास्थ्य मन्त्री र भरत केसी वन मन्त्री बनेका छन्।
बागमती प्रदेशमा जम्मा १४ मन्त्रालय छन्। जसमध्ये एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्री परेका छन्।
अब कांग्रेसबाट ५ जना मन्त्री बन्न बाँकी छ। तर कांग्रेस संसदीय दलभित्र निवर्तमान मुख्यमन्त्री लामा र वर्तमान मुख्यमन्त्री बानियाँबीच भागबन्डा मिल्न नसक्दा मंगलबार सबै मन्त्री चयन हुन नसकेका हुन्। यस विषयमा केही दिनभित्र टुंगो लाग्ने कांग्रेसका प्रदेश सांसदले बताएका छन्।
Shares

प्रतिक्रिया