नेपाली कांग्रेस बामगती संसदीय दलको नेताबाट पदमुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित थप ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मंगलबार (आज) प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामालाई रिक्त रहेका ५ मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्।
कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँलाई समर्थन गर्न मन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएपछि ५ मन्त्रालय मन्त्रीविहीन थियो। उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामालाई प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
लामालाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी, उmर्जा तथा सिँचाइ मन्त्रालय र आन्तरिक तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो।
मुख्यमन्त्रीको साउन ९ गते शुक्रबार र १३ गते मंगलबारको सिफारिस अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए।
यो सँगै १४ मन्त्रालय रहेको बागमतीमा आफ्नै दलका मन्त्रीले छोडेको ५ मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ६ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामाको काँधमा छ।
त्यसोत, ५ मध्ये तीन मन्त्रालयका लागि ३ जना मन्त्री आजै नियुक्त भएका छन्। तर उनीहरूको शपथ ग्रहण आजको लागि स्थगित भएका कारण सबै ५ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामाको काँधमा आइपरेको हो।


Shares

प्रतिक्रिया