दोलखा जिल्लाको विगु गाउँपालिका–१ हुरहुरेमा पहिरो खस्दा सानीमा हाइड्रोपावर कम्पनीका सब–इन्जिनियरको मृत्यु भएको छ।
सानीमा हाइड्रोपावर कम्पनीको बाटो सर्वे गर्ने क्रममा सोमबार (हिजो) दिउँसो करिब ३ः४५ बजे माथिबाट खसेका पहिरोमा परेर नुवाकोटको किस्पाङ गाउँपालिका–२ फिकुरीका २९ वर्षीय सब–इञ्जिनियर सुनिल न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
सडकमाथिबाट आएको पहिरोको ढुंगाले न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको थियो। बोल्न नसक्ने अवस्थामा रहेको न्यौपानेलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। तर उपचारको क्रममा सोमबार साँझ ६ः१२ बजे धुम्बाराहीस्थित हेम्स अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौरका २७ वर्षीय सन्दीप चौलागाईं सामान्य घाइते भएका छन्। उनीहरूलाई सामान्य उपचारपछि पुनः सानीमा हाइड्रोपावरको क्याम्पमा राखिएको छ।
प्रहरीका अनुसार, पहिरो सानीमा हाइड्रोपावर कम्पनीको बाटोको सर्वेक्षण गर्ने क्रममा खसेको हो। सडकमाथिबाट एक्कासी खसेको पहिरोको ढुंगाले लाग्दा न्यौपाने बेहोस भएका थिए।
उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।
एक साताअघि मात्रै नुवाकोट घर आएका सुनिल पारिवारका सदस्यलाई लिएर ३ दिन मौलाकालिका लगायत मन्दिर दर्शन गर्न गएका थिए। धार्मिक भ्रमणपछि रसुवा फर्किएका उनको पहिरोमा परेर ज्यान गएको हो।
सानिमा हाइड्रो ग्रुपमा काम गर्दै आएका सुनिल समय/समयमा फिल्ड हेर्न विभिन्न जिल्लामा जाने गरेका थिए।
३ वर्षदेखि रसुवामा रहेको हाइड्रो पावरमा सब–इञ्जिनियरको रुपमा कार्यरत उनी विगत एक वर्षदेखि भने दोलखाको हाइड्रोपावरमा कार्यरत थिए।
यता, छोराको मृत्युको खबरले सुनिलका बुबा तेज प्रसाद न्यौपाने भावविह्वल बनेका सुनिलका छिमेकी राजेन्द्र फुयाँलले बताएका छन्। हिजो दिउँसोदेखि बेहोस अवस्थामा रहेका बाबुको आज बिहानपख मात्रै होस खुलेको उनले बताए। तेजप्रसादका दुई सन्तानमध्ये उनी जेठो छोरा हुन्।
२०७७ मंसिरमा बिवाह भएका सुनिलको ९ महिनाको छोरी छिन्। सुनिल नेविसंघको नेता समेत थिए।
हाइड्रोपावरमा काम गर्दागर्दै ज्यान गुमाएका सुनिलका परिवारलाई क्षतिपूर्ति दिने, छोरीको उच्चशिक्षासम्मको खर्च व्यहोर्ने तथा इन्सोरेन्सको रकम दाखिला गराउने विषयमा पीडित पक्ष र हाइड्रोपावर कम्पनीबीच सहमती भएपछि हेम्स अस्पतालमा रहेको सुनिलको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको किस्पाङ गाउँपालिका–२ का वडाध्यक्ष बद्रीप्रसाद देवकोटाले जानकारी दिए।
Shares

प्रतिक्रिया