काभ्रेको पनौती नगरपालिका-५ सुब्बागाउँ स्थित ढलमले खोलामा सोमबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएकी रेनुका गिरी अझै बेपत्ता छिन्।
दिउँसो परेको पानीले खोलाको सहत बढेको थियो। सोही क्रममा छोटो बाटो प्रयोग गर्न खोला तर्न खोजेकी रेनुकालाई खोलाले बगाएको हो। आधादिनसम्म आलु खन्दैगर्दा ठूलो बर्षापछि उनीसहित अन्य खेतालाहरु खेतमै त्रिपालमुनि ओत लागेर बसेका थिए। अपराह्न ४ बजेसम्म पनि पानी नरोकिएपछि उनीहरू घर जान भन्दै खेतबाट हिडेँका थिए।
खोला तर्नुअघि आफ्नो साथमा रहेको कोदालो र चप्पल खोला पारी हुत्याएकी उनी खोला तर्नेक्रममा ढुंगामा चिप्लिन पुग्दा बगाएको पाइएको छ। मेलाबाट फर्कने क्रममा सोही गाउँकी सीता तामाङ पनि सँगै थिइन्।
खोला तर्ने क्रममा रेनुकालाई बगाएपछि सँगै रहेकी सीताले हार गुहार नगरी घर गएको पाइएको छ। उनले रेनुकालाई खोलाले बगाएको करिब आधाघण्टा पछि मात्रै आफन्त र छरछिमेकीहरुलाई जानकारी गराएकी थिइन्।
त्यसोत, सीता सुस्त मनस्थितीकी रहेको सोही वडाका वडाध्यक्ष विनोद खत्री बताउँछन्। उनका अनुसार दिनभर एउटै खेतमा आलु खन्ने मेला पकाएर घर फर्किएका उनीहरुमध्ये रेनुकालाई खोलाले बगाए पनि सीताले पहिला कपडा फेर्न घर गएको कारण घटनाबारे ढिलो जानकारी भएको थियो।
सुस्त स्वभावकी सीताले रेनुकालाई खोलाले बगाएको कुरा ढिलो जानकारी दिएको कारण बचाउन नसकिएको वडासदस्य महेन्द्रलाल श्रेष्ठ बताउँछन्। ‘खोलाले बगाउने बित्तिकै हारगुहार गरिदिएको भए नजिकै रहेका मानिसहरुले बचाउन भ्याउँथे होला,’ उनले नेपालखबरसँग भने, ‘उनी पहिला घर गएर कपडा फेरिछिन्। अनि मात्रै रेनुकाको घर गएर खोला तर्ने क्रममा चिप्लिएर खोलाले बगाएको कुरा भनिदिछन्। परिवारको हारगुहारपछि हामीहरु घटनास्थल पुग्दा कोदालो र चप्पल मात्रै भेट्यौँ।’
अन्य समय छोटो बाटोको प्रयोग गर्न स्थानीयहरु सोही स्थानबाट खोला तर्ने गरेको उनको भनाइ छ। सधैं त्यहीबाट खोला तर्ने गरेकी रेनुकाले खोलामा पानी बढेपनि यत्तिको खोला तर्न सकिन्छ भन्दै पहिला चप्पल र कोदालो खोला पारिपट्टी फालेकी थिइन्। सँगै गएकी सीतालाई पहिला आफू खोला तर्छु अनि तँपाईलाई पनि समातेर तार्छु भनेर खोला पसेकी उनी आफैलाई बाढीले बगाएको हो।
सीताले दिएको जानकारीका अनुसार पहिला रेनुका आफैँ खोला तर्न गएकी थिइन्। रेनुकालाई खोलाले बगाएपछि आफू घर गएर कपडा फेरेर मान्छेहरुलाई बोलाएको भन्ने बयान दिएको वडासदस्य श्रेष्ठको भनाइ छ।
दिउँसो परेको पानीले भिजेको कारण पहिला कपडा फेर्न गएको अनि मात्रै आफन्त र छिमेकीहरुलाई खबर गरेकी थिइन्। अन्य समयमा सानो हुने ढलमले खोला सोमबार पानी परेका कारण बाढी आएको थियो।
वडासदस्य श्रेष्ठका अनुसार सँगै गएकी उनले बगाउने बित्तिकै हल्ला नगरिदिँदा रेनुकाको अवस्था अझै पत्ता लाग्न नसकेको बताउँछन्। बेपत्ता रेनुकालाई प्रहरी टोलीले राति १० बजेसम्म खोजी गरेको थियो।
जनप्रतिनिधि र स्थानीयहरुले रातको १२ बजेसम्म खोजीगर्दा पनि फेला पर्न नसकेपछि आज बिहानैबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयहरुले खोजी गरिरहेका छन्।
रेनुकाका श्रीमान् गतवर्ष मात्रै वैदेशिक रोजगारीमा गएका थिए। उनको कक्षा १० मा पढ्ने १६ बर्षका र ५ मा पढ्ने १२ बर्षका दुई छोरा रहेको रेनुकाको काका नाता पर्ने अर्जुन गिरीले जानकारी दिए। उनी छोराहरु र सासुआमासँग बस्दै आएकी थिइन्।
Shares

प्रतिक्रिया