बागमती


काठमाडौँमा मौसम बदली, ह्वात्तै बढ्यो न्यूनतम तापक्रम

काठमाडौँमा मौसम बदली, ह्वात्तै बढ्यो न्यूनतम तापक्रम

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
माघ १३, २०८१ आइतबार ८:१८, काठमाडौँ

काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँको आकाशमा बादल लागेकाले बिहानैदेखि मौसम बदली भएको हो। 

‘स्थानीय वायुले बादल विकास भएको छ’, उनले भने, ‘तर यो पानी पार्ने खालको बादल होइन।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने सम्भावना देखिएको छ। 

 ‘मध्याह्नपछि बादल अलि कम हुने र घाम लाग्ने सम्भावना छ’, उनले भने, ‘काठमाडौँमा आज पानी पर्ने सम्भावनाचाहिँ देखिन्न।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ।

मौसमविद् दाहालका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन हुन्छ। त्यतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने यत्ति नै पनि रहन सक्छ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम भने २१ देखि २३ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् दाहालले बताए। हिजो शनिबार काठमाडौँको अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस थियो। 

मौसमविद् दाहालका अनुसार राति पनि मौसम बदली अर्थात् आकाश बादलले ढाकेका कारण आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको हो। 

यसको ठीक उल्टो दिनमा चाहिँ मौसम सफा भयो भने अधिकतम तापक्रम बढ्छ भने आकाश बादलले ढाक्यो भने घाम लाग्न नपाउने हुँदा अधिकतम तापक्रम घट्छ। 

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad