बागमती


कांग्रेसभित्रकै लडाइँमा अग्रवाल र रानाभाटलाई क–कसको साथ?

कांग्रेसभित्रकै लडाइँमा अग्रवाल र रानाभाटलाई क–कसको साथ?

अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवाल र प्रमोदसिंह रानाभाट


सुनिता विष्ट
पुस २६, २०८१ शुक्रबार २०:४३, हेटौंडा

मकवानपुर उद्योग वाणिज्य संघको आगामी नयाँ नेतृत्वको लागि शनिबार (पुस २७ गते) मतदान हुँदैछ। बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूबीच शनिबार चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुईजनाले मनोनयन दर्ता गराएका छन्। जसमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटबीच अध्यक्ष पदमा चुनाव हुँदैछ भने अन्य पदाधिकारी तथा सदस्यहरू समेत मतदान प्रक्रियाबाट चुनिनेछन्। ७ जना भने सर्वसम्मत् निर्वाचित भैसकेका छन्।

त्यसोत, मउवा संघको ५८ औं अधिवेशनले मकवानपुर व्यवसायीलाई मात्रै तताएको छैन, समग्र मकवानपुरको राजनीतिलाई समेत गर्मीत् बनाएको छ। मउवा संघको नेतृत्वका लागि नेपाली कांग्रेस निकटका दुई अध्यक्षका उम्मेदवारको उम्मेदवारीका कारण मकवानपुर गर्माएको हो।

अनिल अग्रवाललाई कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँको साथ छ भने प्रमोदसिंह रानाभाटलाई कांग्रेस सहमहामन्त्री डिना उपाध्याय तथा डिना प्यानलकै कांग्रेस नेता आनन्दराम पराजुलीको साथ छ।

मकवानपुर कांग्रेसमा उपाध्याय र बानियाँ दुई खेमामा विभाजन भएका छन्। जसकारण पनि मउवा संघको निर्वाचनलाई कांग्रेस भित्रको शक्ति प्रदर्शनको रुपमा समेत व्यवसायीहरूले व्याख्या गर्दै आएका छन्।

सामान्यतया मउवा संघका तत्कालीन वरिष्ठ उपाध्यक्ष अग्रवालकै अध्यक्ष बन्ने पालो हो। वरिष्ठताको आधारमा अग्रवालको अध्यक्ष पदमा उम्मेदवारी जायज रहेको उनको दाबी छ।

यता, सोही कार्यकालमा उपाध्यक्ष पदमा रहेर काम गरेका रानाभाट आफूले तीन वर्षअघि नै अर्को अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु भन्ने घोषणा नै गरेको बताउँदै आएका छन्।

हुनत यी दुई अध्यक्षका उम्मेदवारबीच सहमती गराउन नखोजिएको भने होइन। कांग्रेस नेता बानियाँले आफ्नो घरमै दुवैलाई बोलाएर मिलेर जान अनुरोध गरेको चर्चा छ। यद्यपि, दुवैजनाले एक अर्कालाई स्वीकार्न नसकेपछि चुनावी मैदानमा उत्रने वातावरण बनेको बताइएको छ।

यद्यपी, आकांक्षीबीच सहमतीको वातावरण नबन्दा निर्वाचन हुनु ठूलो कुरा होइन। तर वरिष्ठताको आधारमा अध्यक्ष पदमा उठेका उम्मेदवारलाई वहालवाला अध्यक्ष देखि पूर्व अध्यक्षहरूले समेत साथ छाड्नु गलत भएको अग्रवाल प्यानलको गुनासो छ।

एक पूर्वअध्यक्ष राजकुमार न्यौपाने बाहेक सबैले रानाभाट प्यानललाई सघाएको भन्दै अग्रवाल असन्तुष्ट देखिएका हुन्। अग्रवाल प्यानलको घोषणा तथा चुनावी एजेण्डा प्रस्तुत गर्ने साँझमा पूर्वअध्यक्ष राजकुमार न्यौपाने र भुवनलाल श्रेष्ठ बाहेक अन्यको उपस्थिती देखिएन।

अघिल्लो साँझ अर्थात् रानाभाटको प्यानल घोषणा तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा न्यौपाने बाहेक सबै पूर्वअध्यक्षहरूको उपस्थिती देखिन्थ्यो। वहालवाला अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल पनि रानाभाटको प्यानल सार्वजनिक कार्यक्रममा पुगेका थिए। तर उनी अग्रवालको प्यानल सार्वजनिक कार्यक्रममा देखिएनन्। यस कारण पनि प्रायः पूर्वअध्यक्षहरूको साथ रानाभाटलाई मात्रै किन? भन्ने प्रश्न तेर्सिएको छ।

हुन त अब हुने मतदानको अंकले मउवा संघको अध्यक्षको चयन गर्ने नै छ। तथापी, के साँच्चै पूर्वअध्यक्षहरुले रानाभाटलाई काखा र अग्रवाललाई पाखा गरेका हुन् त? कि चुनावी फण्डा बनाएर भित्री रुपमा अग्रवाललाई साथ दिइरहेका छन्? पछिल्लो समय मतदाता व्यवसायीहरूबीच चर्चा भइरहेको छ।

यता, पूर्वअध्यक्ष भएकै नाताले जसले बोलाए पनि कार्यक्रममा उपस्थित हुनुपर्ने बाध्यता रहेको पूर्वअध्यक्ष केशव श्रेष्ठ बताउँछन्। तर पनि कहाँ जाने? कहाँ नजाने भन्ने कुरा आफ्नो विषय भएको उनले बताए।

वरिष्ठताको आधारमा अध्यक्ष बन्ने पालो अनिल अग्रवालको हो, तर तँपाईहरुको समर्थन रानाभाटलाई छ भन्ने चर्चा छ नि? नेपालखबरको यो प्रश्नमा उनले भने, ‘नेतृत्व भन्ने कुरा वरिष्ठता भन्दा पनि क्षमताको हुन्छ। हुन त हामीले दुवै उम्मेदवारलाई एउटै डालोमा राखेका छौं। यो मउवा संघको अधिवेशनमा मात्रै नभएर हरेक क्षेत्रमा वरिष्ठता मात्रै हेरिँदैन, क्षमता र दक्षता हेरिन्छ।’

त्यसोत, अर्का पूर्वअध्यक्ष उत्तम शर्मा ढकालले दुवै उम्मेदवार उत्तिकै प्रखर रहेको बताए। उनले भने, ‘व्यवसायीले कस्लाई रोज्छन् भन्ने कुरा हो। व्यवसायी मतदाताले आफूहरूरुलाई परेको समयमा नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्ति छानेर मत दिनेछन्। म पूर्वअध्यक्षले यसलाई उसलाई भनेर काखी च्याप्ने कुरा आउँदैन। मेरो त दुवैलाई उत्तिकै समर्थन छ।’

त्यसोत, वहालवाला अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल भने आफू खुलेरै रानाभाट जिताउन लागेको बताउँछन्। ५७ औं अधिवेशनका बेला उपाध्यक्षमा विजयी भएका अनिल अग्रवालले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए ५८ औं अधिवेशनमा कुनै पनि पदमा निर्वाचन नलड्ने दाबी गरेको बताए।

अग्रवालले भने, ‘मैले उतीबेलै अर्को पटक अध्यक्ष उठ्छौ भने भन, म सहयोग गर्छु। तर अहिले वरिष्ठ उपाध्यक्ष प्रमोदलाई दिन्छु भनेको थिएँ। तर अनिलले वरिष्ठ दिनुहोस्। अर्को पटक म निर्वाचनमा होमिन्न भनेका थिए। त्यसकारण ३ वर्षअघि नै मैले प्रमोदलाई अध्यक्ष बन्न सहयोग गर्ने वाचा गरेर अनिललाई वरिष्ठ उपाध्यक्ष बनाइदिएको हुँ।’ आफूले इमान्दारीता पूरा गरेको उनको भनाइ छ।

यी हुन् उम्मेदवार
संघको अध्यक्ष पदमा रानाभाट र अग्रवालको उम्मेदवारी रहेको छ भने महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ) र तेजराज अधिकारी, सह–कोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिएका छन्।

त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता हुँदा सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली रहेका छन्। सदस्यहरुमा भने राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को उम्मेदवारी परेको छ।

उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरेको उम्मेदवारी दर्ता हुँदा सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारीको उम्मेदवारी दर्ता भएको छ। उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको अधिकृत ढकालले बताए।

एसोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाईको उम्मेदवारी पर्दा दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी छ।

वस्तुगततर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेदवारी परेको छ भने सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको उम्मेदवारी छ। एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालका अनुसार, ७ जना निर्विरोध निर्वाचित भएका छन्। यीमध्ये ६ जना प्रमोद सिंह रानाभाटको प्यानलबाट निर्वाचित भएका छन् भने १ जना अनिल अग्रवालको प्यानलबाट निर्वाचित भएका हुन्।

रानाभाट प्यानलबाट निर्विरोध निर्वाचित हुनेहरूमा उद्योगतर्फको सचिवमा रुपकराज दाहाल, एसोसियट सचिवमा माधव ज्ञवाली र वाणिज्यतर्फको महिला आरक्षणमा निलम बजगाईं रहेका छन्।

यस्तै, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली, बहुराष्ट्रियतर्फ विक्रमकुमार सञ्जेल र मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती पनि रानाभाट प्यानलकै उम्मेदवार हुन्। वाणिज्यतर्फको महिला आरक्षणमा निलम पाण्डे निर्विरोध निर्वाचित भएकी छन् जो अनिल अग्रवालको प्यानलको उम्मेदवार हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad