बागमती


पतिको मृत्युपछि फेसबुके लभले बस्यो गर्भ, ब्लक गरेर प्रेमी भागेपछि झाडीमा फालिन् शिशु

पतिको मृत्युपछि फेसबुके लभले बस्यो गर्भ, ब्लक गरेर प्रेमी भागेपछि झाडीमा फालिन् शिशु

सुनिता विष्ट
कात्तिक २२, २०८१ बिहिबार १४:५८, हेटौँडा

मकवानपुरको थाहा नगरपालिका-४ शिखरकोटस्थित सार्वजनिक शौचालयनजिकै झाडीमा नवजात शिशु भेटियो। बुधबार साँझ झाडीमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीले खबर गरिदिए। 

इलाका प्रहरी कार्यालय कार्यालय पालुङको टोली घटनास्थल पुग्यो। कार्यालयका प्रमुख प्रहरी निरिक्षक सबिन बाबु अर्यालीको कमान्डमा पुगेको प्रहरी टोलीले घटनाबारे जानकारी लियो।

झाडीमा भेटिएको शिशु (बालक) को उद्धार गर्‍यो। झाडीमा शिशु फेला परेपछि कहाँबाट, कसले छाड्यो भनेर खोजतलास गर्दै जाँदा स्थानीयले दिएको जानकारीका आधारमा शिशुकी आमा २८ वर्षकी मेनुका धिताललाई प्रहरीले पक्राउ गर्‍यो। 

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मेनुकाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरिन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्। 

फेसबुकबाट लभ परेपछि...  
मेनुकाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत पुरुषसँग माया बस्यो। तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो। तर यो थाहा पाउनासाथ फेसबुकमा मेनुकालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भए।

‘१० दिनअघि थापाथली अस्पतालमा शिशुको जन्म भएको रहेछ’, प्रहरी निरिक्षक अर्यालीले नेपालखबरसँग भने, ‘सुत्केरी भएपछि उहाँ पालुङमा रहेको आफ्नी दिदीको घर आउनुभएको रे। पहिलाको श्रीमान् नभएको मान्छेले बच्चा जन्मायो भनेर घरबाट हेला गरेपछि दिदीको घर आउनुभएको भन्ने बुझियो। दिदीबहिनीकै सल्लाहमा शिशुलाई झाडीमा फालेको उहाँ आफैँले स्वीकार गर्नुभएको छ।’

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको र शिशुको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख, प्रहरी निरीक्षक अर्यालीले जानकारी दिए।

मेनुकाले दिएको बयानका आधारमा ती युवकको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad