ad ad

बागमती


बागमतीमा मुख्यमन्त्रीको दाबी पेस गर्न ‘साइत’ हेर्दै कांग्रेस, काठमाडौँमा एमालेको छलफल

बागमतीमा मुख्यमन्त्रीको दाबी पेस गर्न ‘साइत’ हेर्दै कांग्रेस, काठमाडौँमा एमालेको छलफल

सुनिता विष्ट
साउन ७, २०८१ सोमबार १४:५५, मकवानपुर (हेटौंडा)

नयाँ सत्ता समीकरण अनुसार बागमती प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीको दाबी पेस आज (सोमबार) गर्ने बताइएको थियो। 

आइतबार माओवादी नेतृत्वको सरकारले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी थियो।

जसका लागि आइतबार नै नेकपा एमाले र नेपाली कांग्रेसले ६४ सांसदको हस्ताक्षण संकलन समेत भएको थियो। सोमबार बिहान १० बजे कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय जाने तालिका नै बनिसकेको थियो। 

दुई दलबीचको भागभन्डामा सहमति नजुटेपछि एमालेले आज दाबी पेस बुझाउन नमानेको समेत चर्चा छ।

हाल १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री कार्यालय र भौतिक मन्त्रालय सहित ७ मन्त्रालय पाउनपर्ने बताएको छ।

सांसदको संख्याको आधार मानेर कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिनुपर्ने कांग्रेसले बताएको छ भने एमालेले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय पाएपछि एमालेलाई ७ मन्त्रालय दिएर कांग्रेसले ६ मन्त्रालय लिनुपर्ने माग राखेको छ। 

तर एक्कासी उक्त तालिका फेरियो। नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया लगायत केही सांसदहरू बिहानै काठमाडौँ हिँडेकाले दाबी पेस रोकिएको बताइएकाे छ।

केन्द्रीय नेताहरूले छलफलका लागि बोलाएको हुँदा दाबी पेस छोडेरै काठमाडौँ गएको ती सांसद बताउँछन्।

‘दाबी पेसको अन्तिम समय मंगलबारसम्म रहेकोले आजै हेटौंडा फर्कने गरी उहाँ काठमाडौँ जानुभएको हो,’ उनले नेपालखबरसँग भने।

दुवै दलले आ–आफ्नो अडान नछोड्दा मुख्यमन्त्रीको दाबी पेस नै प्रभावित बनेको हो।

यता, कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा भने आफूहरूले साइत हेराइरहेको बताउँछन्।

‘दाबी पेस गर्दा कुन दिन ठिक होला भनेर ज्योतिषलाई साइत हेराउँदै छौँ, सम्भवतः भोलि मात्रै दाबी पेस होला,’ उनले भने।

तर दुई दलबीच मन्त्रालयको भागबन्डा नमिलेर एमालेका नेता काठमाडौँ हिँडेको भन्ने चर्चा छ नी? नेपालखबरको यो प्रश्नमा उनले भने, ‘दाबी पेस गर्न त्यती हतारो पनि छैन। प्रदेश प्रमुखको कार्यालयले भोलि साँझ ५ बजेसम्मको समय दिएको छ। उहाँले हामीसँग सल्लाह गरेर नै जानुभएको हो। पार्टीका शीर्ष तहका नेताले छलफलका लागि बोलाउनुभएको भनेर जानुभएको हो। दुई दलबीच मन्त्रालय भागवण्डाको छलफल सुरु भएकै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .