ad ad

बागमती


ललितपुरमा बिरामी महिलालाई बलात्कार गरेको आरोपमा मेडिकल सञ्चालकविरुद्ध मुद्दा

ललितपुरमा बिरामी महिलालाई बलात्कार गरेको आरोपमा मेडिकल सञ्चालकविरुद्ध मुद्दा

नेपालखबर
असार ८, २०८१ शनिबार १५:१६, काठमाडौँ

ललितपुरमा एकजना क्लिनिक सञ्चालकविरुद्ध उपचार गर्न आएकी बिरामी महिलालाई बलात्कार गरेको मुद्दा लागेको छ। 

ललितपुरको महालक्ष्मी नगरपालिका-५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा (मेडिकल पसल तथा क्लिनिक) सञ्चालन गर्ने ५१ वर्षीय रामगोपाल नेम्कुलविरुद्ध ललितपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको हो। 

पीडितले सातदोबाटोस्थित प्रहरी वृत्तमा दिएको जाहेरीका आधारमा गत जेठ १८ गते पक्राउ परेका उनी शुक्रबार (असार ७ गते) मात्र ३ लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।

जाहेरीमा पीडितले गत वैशाख २ गते बिहान उपचारका लागि जाँदा नेम्कुलले लठ्याउने सुई लगाई आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन्। 

प्रतिवादी नेम्कुलले भने जग्गा कारोबारका क्रममा आफूबाट पैसा असुल्न ती महिलाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको दाबी गरेका छन्। शुक्रबार उनी धरौटीमा छुटे पनि बलात्कार मुद्दा भने ललितपुर जिल्ला अदालतमा विचाराधीन छ।

चीनबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका नेम्कुल मिडाट र गणेशमान अस्पतालमा पनि काम गर्छन्। 

यस्तो छ घटना 
पीडित महिलाले प्रहरी वृत्त सातदोबाटोमा दिएको जाहेरीअनुसार घटना गते वैशाख २ गते (२०८१/१/२) बिहान ६:५० बजेतिरको हो।

त्यस दिन घुँडा दुखेपछि उनी उपचारका लागि महालक्ष्मी नगरपालिका-५ सानागाउँस्थित रामगोपाल नेम्कुलको उपेन फर्मा प्रालिमा पुगिन्।

पाँच वर्षदेखि चिनजान भएकाले उनी औषधि/उपचारका लागि त्यही क्लिनिकमा जान्थिन्। 

त्यही क्रममा गत वैशाख २ गते जाँदा भने नेम्कुलले उनलाई बलात्कार गरेका हुन्। 

पीडितको दाबीअनुसार नेम्कुलले क्लिनिकको ढोका बन्द गर्दै बेडमा सुत्न भने।

त्यसपछि घुँडा पनि हेर्नपर्छ भनी लुगा खोल्न लगाए। त्यस क्रममा उनले लठ्याउने सुई लगाइदिए र जबर्जस्ती करणी गरे।

‘...मलाई नदुख्ने सुई दिएपश्चात् मैले सबै कुरा याद गरिरहेकी थिएँ, तर मेरो हातखुट्टा भने चलिरहेको थिएन...मैले प्रतिकार गर्न सकिनँ’, जाहेरीमा महिलाले भनेकी छन्।

बलात्कार गरिसकेपछि नेम्कुलले यो घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिए। तर पनि पीडितले घटनाबारे आफन्तलाई सुनाइन्। 

त्यसपछि कानुनी उपचारका लागि जिल्ला हुलाक कार्यालयमार्फत प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दरखास्त दिइन्। 

त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत ललितपुरमा बलात्कार मुद्दा दर्ता गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .