मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६, आकाशधाराकी चमेलीमाया मोक्तानको आधा जिन्दगी गाग्रीमा पानी बोकेरै बित्यो।
गाउँभरिको लागि एउटा कुवाको भर थियो। पानीको पालो कुर्दै आधा रातमै उठ्नुपर्ने बाध्यता थियो।
बर्खायाममा खोल्साको धमिलो पानी पिउनुपर्ने पीडा पनि उस्तै थियो। आकाशधारामा गत वर्षसम्म खानेपानीका लागि कुवाकै भर पर्नुपर्ने अवस्था थियो।
तर आज त्यो अवस्था फेरिएको छ। आँगनमै धारा बगेपछि बिहान-बेलुका सहजै स्वच्छ खानेपानी प्रयोग गर्न पाउँदा चमेलीमाया मात्रै होइन, गाउँभरकै मानिसहरू खुसी छन्।
गाउँभन्दा तल रहेको कुवाबाट पानी ल्याउन स्थानीयवासीले दैनिक घण्टौँ पैदल हिँड्नुपर्थ्यो। तर आज त्यो दृश्य फेरिएको छ।
आकाश धारागाउँको तल रहेको शक्तिखोलामा गरिएको डिप बोरिङबाट पानी तानेर आकाशधाराको डाँडामा निर्माण गरिएको ट्यांकीमा संकलन गरिन्छ। र, त्यहीँबाट प्रत्येक घरमा स्वच्छ खानेपानी वितरण गरिन्छ।
वर्षौँदेखि खानेपानी अभावको पीडा भोग्दै आएका स्थानीयवासीका लागि यो आयोजना अहिले ठूलो राहत बनेको छ।
खनेपानीको लागि विगतमा भोगेको पीडा स्मरण गर्दै उनी भन्छिन्, ‘पानीको पालो कुर्न आधा रातमा उठेर कुवा जानपर्थ्यो। बोकेको पानी वस्तुभाउलाई खुवाउनु कि आफू खानु जस्तो हुन्थ्यो। अहिले त बिहान बेलुका घरमै धारो आउँछ। पानीको धेरै सुविधा भएको छ।’
यता हेटौँडा बजार क्षेत्रसँगै जोडिएको हेटौँडा–११ को सिमलटारमा पनि केही वर्षअघिसम्म स्थानीयको भर चापाकलमै थियो। घरघरमा धारा नहुँदा दैनिक आवश्यकताका लागि चापाकलको पानी प्रयोग गर्नु बाध्यता थियो।
गर्मीयाममा पानीको सतह घट्ने र वर्षायाममा पानीको गुणस्तरमा समेत असर पर्ने समस्या रहन्थ्यो। यसले स्थानीयको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको थियो।
तर अहिले सिमलटारको पनि अवस्था फेरिएको छ। खानेपानी आयोजना विस्तारसँगै सिमलटारका अधिकांश घरमा स्वच्छ र सुरक्षित खानेपानी पुगेको छ।
यसले दैनिक जीवन सहज बनाएको मात्र होइन, स्वच्छ पानीको पहुँचसँगै स्थानीयको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याएको छ।
आकाशधारा र सिमलटार त पछिल्लो समय स्वच्छ खानेपानीको पहुँच पुगेका क्षेत्रका प्रतिनिधि उदाहरण मात्र हुन्।
हेटौँडाका धेरै वस्तीमा विस्तार भएका खानेपानी आयोजनाले हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएका छन्।
घरघरमा धारा पुगेपछि खानेपानीको समस्या मात्र होइन, स्वास्थ्य, सरसफाइ र जीवनशैलीमा समेत उल्लेखनीय सुधार आएको छ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको प्रभावकारी नेतृत्व र ४२ वटा खानेपानी उपभोक्ता समितिको सक्रिय सहकार्य मुख्य आधार बनेको छ।
योजना निर्माणदेखि स्रोत व्यवस्थापन, पूर्वाधार विस्तार, सञ्चालन र नियमित मर्मतसम्भारसम्म सबै पक्षको साझा पहलले नगरका अधिकांश वस्तीमा सुरक्षित खानेपानीको पहुँच विस्तार भएको छ।
अझै सेवा नपुगेका वस्तीमा पनि नयाँ आयोजना सञ्चालन गरी हरेक नागरिकको घरसम्म स्वच्छ र सुरक्षित खानेपानी पुर्याउने अभियान निरन्तर अघि बढिरहेको छ।
विशेष गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमार्फत भएका कार्यसम्पादनले हेटौँडाको खानेपानी क्षेत्रको विकासमा आयाम थपेको हो।
बोर्डमार्फत खानेपानी विस्तार भएका स्थानहरूमा सरल, सहज र स्वच्छ खानेपानी पुर्याइएको छ।
सबैभन्दा धेरै पानी खपत हुने हेटौँडा बजार क्षेत्रको लागि हेटौँडाको सीमानामा पर्ने मकवानपुरगढी गाउँपालिका–४ सामरी खोलामा समवयेल निर्माण गरिएको छ।
सामरी र बुङ्दलको पानी हेटौँडा–१, वनस्खण्डीेको ५ लाख ४६ हजार लिटर क्षमताको भूमिगत ट्यांकीमा जम्मा गरी वितरण गरिँदै आइएको छ।
हाल भएका ट्यांकीहरूमध्ये यो सबैभन्दा धेरै क्षमताको भए पनि हाल हेटौँडा–९, बेतखोल्सीमा ६ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण भइरहेको छ।
क्रमागत योजनाअन्तर्गत बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा छ। जसबाट हेटौँडा–९ लगायत बजार क्षेत्रका नागरिकहरू लाभान्वित हुने वडाध्यक्ष सुकराम केसी बताउँछन्।
हाल बोर्डअन्तर्गत २९ हजार ८०२ वटा धारा सञ्चालनमा छन्। दैनिक सरदर ३ करोड ७५ लाख लिटर खानेपानी उत्पादन तथा वितरण भइरहेको छ।
१२ र १३ बाहेक १७ वटा वडामा बसोबास गर्ने करिब १ लाख ७० हजार नागरिकलाई नियमित खानेपानी सेवा उपलब्ध गराइँदै आएको छ।
हाल खानेपानीको मुख्य स्रोतमा १ सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल छन्। पानी भण्डारण क्षमता ७ हजार ४७० घनमिटर रहेको छ भने ६२८ किलोमिटर लम्बाइको मुख्य तथा शाखा पाइपलाइनमार्फत वितरण प्रणाली सञ्चालन भइरहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट बताउँछन्।
उनका अनुसार चालु आर्थिक वर्षमा हेटौँडा-१५, सानो सुकौलीमा एक लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, ठूलो सुकौलीमा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण तथा हेटौँडा-१६ शक्तिखोलामा ९ सय घनमिटर क्षमताका ६ वटा संकलन ट्यांकी, समवेल तथा करिब साँढे ३ किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको सहलगानीमा हेटौँडा–११, थानाभर्याङ–सिमलटार क्षेत्रमा दुई वटा समवेल, पालेघर तथा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण भएको छ।
हेटौँडा–१४ मा डिप ट्युबवेल तथा २ लाख लिटर क्षमताको ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युतीकरणका काम अघि बढिरहेको छ।
यता, हेटौँडाका विभिन्न वडामा स्थानीय उपभोक्ता समितिमार्फत पनि खानेपानी आयोजनाहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।
स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै नयाँ खानेपानी योजना निर्माण, मुहान संरक्षण, रिजर्भ ट्याङ्की निर्माण, वितरण पाइपलाइन विस्तार तथा मर्मतसम्भारका काम निरन्तर अघि बढाइएका छन्।
योजना सञ्चालनदेखि व्यवस्थापन र नियमित अनुगमनसम्म स्थानीय समुदाय स्वयं सक्रियरूपमा सहभागी हुँदा खानेपानी सेवा थप व्यवस्थित र दिगो बन्दै गएको छ।
खानेपानीको पहुँच विस्तारका लागि हेटौँडा उपमहानगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको छ।
बजार क्षेत्रका पुराना खानेपानी प्रणालीको स्तरोन्नतिसँगै खानेपानी नपुगेका वस्तीलाई प्राथमिकतामा राखेर नयाँ आयोजना सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा बताउँछिन्।
उनका अनुसार यससँगै उपमहानगरले खानेपानी उपभोक्ता समितिहरूसँग समन्वय गरी दिगो, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा विस्तारमा जोड दिइरहेको छ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र ४२ वटा खानेपानी उपभोक्ता समितिमार्फत नगरभर खानेपानी सेवाको विस्तारलाई व्यवस्थितरूपमा अघि बढाइएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया