मकवानपुरको कैलाश गाउँपालिकाले माध्यामिक शिक्षा पूरा गरेर २० पूरा भएपछि विवाह गर्ने चेलीलाई नगद सहित सम्मान गरेको छ।
बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्य प्रभावित हुन थालेपछि कैलाश गाउँपालिकाले त्यसको न्यूनीकरणका लागि ‘चेली प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। सोही अनुरुप बुधबार (आज) १८औँ नगरसभामा १० जना चेलीलाई नगद सहित सम्मान गरेको हो।
कैलाश–२ की मुना चेपाङ, कैलाश–४ की शान्तिमाया मुक्तान, कैलाश–६ की सावित्री अधिकारी, कैलाश–९ की संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा रहेका छन्। त्यसैगरी वडा नम्बर १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तानलाई नगद सहित सम्मान गरिएको हो।
विवाह गरेर गएको आफूहरुलाई गाउँपालिकाले बोलाएर सम्मान गर्दा उनीहरु खुसी देखिएका छन्। मकवानपुरकै एउटा स्थानीय तहमा मात्रै सञ्चालित यस कार्यक्रमले बालविवाह न्यूनीकरणमा सहयोग पुर्याउने सम्मानित अनिषा थापाले बताइन्। यो अभियानले सानै उमेरमा विवाह गर्ने तथा बीचमै पढाइ छाड्ने प्रवृत्ति घटाउन सकारात्मक प्रभाव पारेको उनको अनुभव छ।
मकवानपुरका १० स्थानीय तहमध्ये कैलाश गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा विकट मानिन्छ। दुर्गम भूगोलका कारण शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा पहुँच सीमित रहँदै आएको यस गाउँपालिकाले बालविवाह, अशिक्षा र गरिबीजस्ता सामाजिक समस्यासँग लामो समयदेखि संघर्ष गर्दै आएको छ। यिनै समस्याको समाधान खोज्ने क्रममा गाउँपालिकाले विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
ती कार्यक्रममध्ये ‘चेली प्रोत्साहन कार्यक्रम’ प्रभावकारी कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ। यस कार्यक्रमअन्तर्गत कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गर्दै आएको हो।
गाउँपालिकाले २०७९ सालमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी २०८० सालको गाउँसभाबाट औपचारिक रूपमा कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। त्यसयता प्रत्येक वर्ष योग्य चेलीहरूलाई नगद र सम्मानपत्र प्रदान गर्दै आएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्ष लोक बहादुर मुक्तानको योजनामा सुरु गरिएको कार्यक्रम प्रभावकारि देखिएको स्थानीयहको भनाइ छ।
गाउँपालिका अध्यक्ष मुक्तानका अनुसार आर्थिक अभावका कारण पढाइ बीचमै छाड्ने तथा कम उमेरमै विवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो, गाउँपालिका अध्यक्ष मुक्तानले भने, ‘कक्षा १२ सम्म अध्ययन पूरा गरी २० वर्षपछि मात्र विवाह गर्ने चेलीलाई प्रोत्साहन गर्दा बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव देखिएको छ। हालसम्म ५२ जना चेलीलाई सम्मान गरिएको छ,’ अध्यक्ष मुक्तानले भने।
उनका अनुसार कार्यक्रमले किशोरीहरूलाई शिक्षा पूरा गर्न प्रेरित गर्नुका साथै अभिभावकहरूमा पनि बालविवाहप्रति सचेतना बढाएको छ।
महिला सशक्तीकरण, शिक्षामा पहुँच विस्तार तथा सामाजिक कुरीति न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनको भनाइ छ। उनका अनुसार आगामी आर्थिक वर्षबाट अध्ययनमा सहजता प्रदान गर्नेगरी पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूले यो कार्यक्रमलाई बालविवाह नियन्त्रण र किशोरी शिक्षाको प्रवद्र्धनका लागि प्रभावकारी सामाजिक अभियानका रूपमा लिएका छन्। गाउँपालिकाले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Shares

प्रतिक्रिया