ad ad

बागमती


लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै मकवानपुर

लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै मकवानपुर

नेपालखबर
साउन १९, २०८० शुक्रबार १७:३९, हेटाैँडा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार लागुऔषध सहित २ जनालाई पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्कमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८९३७ नं. यात्रुबाहक बसमा उनीहरु लागुऔषध सहित भेटिए।

उमेर दुवैको १९ वर्ष मात्रै रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट लागुऔषध डाईजेपाम १ सय ९९ एम्पुल, फेनर्गन १ सय ९५ एम्पुल, बुप्रिनुर्फिन १ सय ९० एमपुल गरी ५ सय २४ एम्पुल फेला पर्यो। उक्त लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए।

यस्तै, सोमबार पनि मकवानपुर प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। सोमबार हेटौंडाका विभिन्न स्थानबाट ४ जनालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हेटौंडा–१४, नयाँबस्तीस्थित गैरीटोलबाट लागुऔषध ओनरेक्ससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–११, थानाभ¥याङका मोटरसाइकल चालक २४ वर्षीय अरबिन बर्णवाल र हेटौँडा–१, चाईनाक्वाटरका ३५ वर्षीय बिनोद प्रजा रहेको प्रहरीले जानकारी दिएको छ।

सोमबार साँझ वीरगञ्जबाट मयुरधाप आउँदै गरेको ना ३७ प १२४७ नम्बरको मोटरसाइकललाई प्रहरीले सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ओनरेक्स ११ बोतल फेला पारेको थियो। यस्तै, लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताउँछ।

यो मकवानपुुर प्रहरीले दुईदिनमा नियन्त्रणमा लिएको लागुऔषध र लागुऔषध कारोबारमा संलग्न व्यक्तिको तथ्यांक हो। प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने गरेको छ। मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।

सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सिमानाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्। झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ।

जिल्लामा उत्पादन भएको लागुऔषध अन्यत्र बाहिरिने र बाहिर उत्पादन भएको लागुऔषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। यसरी लागुऔषधको ओसारपसार हुने मकवानपुर लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ।

एक वर्षमा २ सय ४५ पक्राउ
मकवानपुरमा मात्रै गत आर्थिक वर्षमा २ सय ४५ जना लागुऔषध कारोबारमा पक्राउ परेको प्रहरीको तथ्यांक छ। विभिन्न लागुऔषध कारोबारमा संलग्न उनीहरुलाई कारबाही गर्न १ सय ५३ मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/०८० मा २ सय २५ जना यस कारोबारमा पक्राउ परेका थिए। १ सय ४९ वटा मुद्दा चलाएर उनीहरुलाई कारबाही गरिएको प्रहरीको तथ्यांक छ।

२ हजार किलो गाँजा बरामद
मकवानपुर प्रहरीले गत एक वर्षमा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। कारोबारको क्रममा रहेको विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले गत आर्थिक वर्षमा विभिन्न प्रकारको लागुऔषध बरामद गरेको हो।

अघिल्लो आव २०७९/०८० मा मकवानपुर प्रहरीले ६ हजार २५ किलो गाँजा, २१ किलो चरेश, १४ किलो अफिम बरामद गरेको छ। यसैगरी, ४ हजार ४ सय २ ट्याब्लेट नाइट्रोभेट ट्याब्लेट, १ हजार ३ सय ५३ ट्याब्लेट डाइजेपाम, १ हजार ३ सय ९ ट्याब्लेट फेनारगन, १ हजार ३ सय १९ ट्याब्लेट नोर्फिन र १ हजार ५ सय ४० बोतल कोरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ६ सय ५८ किलो गाँजा र २० किलो चरेश प्रहरीले बरामद गरेको थियो।

त्यस्तैगरि ७० ग्राम खैरो हेराइन, १२ किलो अफिम र १२ हजार ६ सय ९७ ट्याब्लेट नाइट्रोभेट बरामद भएको प्रहरीको तथ्यांक छ। प्रहरीले ९ सय ३१ ट्याब्लेट डाइजेपाम, ९ सय ४३ ट्याब्लेट फेनारगन, ९ सय ६२ ट्याब्लेट नोर्फिनको र ९ सय ४२ बोतल कोरेक्स बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने लागुऔषध कारेबारमा संलग्नहरुको संख्यामा बृद्धि भएको पाइन्छ। भारतसँगको खुल्ला सीमानामा रहेको मकवानपुरमा लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले सुरक्षा जाँचमा कडाई गरेसँगै पक्राउ पर्नेको संख्यामा समेत बृद्धि भएको प्रहरीको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .