ad ad

बागमती


सात किमि सडक ७ वर्षमा पनि कालोपत्र भएन!

सात किमि सडक ७ वर्षमा पनि कालोपत्र भएन!

पूर्णप्रसाद मिश्र
भदौ २, २०७९ बिहिबार ११:५३, काठमाडौँ

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयको स्वास्थ्यमा समस्या हुन थालेको छ।

काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ।  धुलोले यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ। निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन्।

गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन्। सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए। धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ।

आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमि सडक सात वर्षदेखि अलपत्र  । सुरुमा सडक दायाँबायाँ घर भएका स्थानीयले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन। केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ। यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीय र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्।

नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ। आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन।

आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन। रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्। 

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ। पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीय बताउँछन्।

कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन। हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ। अन्य स्थानमा पनि केही काम बाँकी छ। हाल तीन महिनादेखि काम रोकिएको स्थानीयको गुनासो छ। वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन। वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ।

सडकको धुलोले धेरै स्थानीयलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ। यो समस्याबाट सडकछेउका धेरै स्थानीय पीडित छन्। स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउँछन्। धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उनले सुनाए।

पछिल्लो समय सडक विस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताए। सात वर्षदेखि विस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लागि सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन्।

पुलको अत्तोपत्तो छैन
ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमिको दूरीमा पर्ने यो खण्डका पाँचवटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन। यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ।

करोडौँ लागतमा सडक विस्तार भए पनि पैदल मार्ग छैन। पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन्। सडक विस्तार भएपछि सवारीसाधन तीव्र गतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ। विशेषगरी किशोर उमेरका चालकले तीव्र गतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो। सवारीसाधनको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ। यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .