ad ad

बागमती


चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०७९ आइतबार १८:३५, चितवन

चितवनमा ५ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय (चितवन) का अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन्। यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन्।

उनका अनुसार यस जिल्लाबाट सोही समयमा ६ जनाको नागरिकता रद्द गरिएको छ। नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ। वाग्लेका अनुसार झुट्टा विवरण पेस गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट ६ जनाको नागरिकता रद्द गरिएको हो।

यस्तै गत अर्थिक वर्षमा १८ हजार तीन सय ९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्। अङ्गीकृत नागरिकता लिने आठ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। उनका अनुसार अङ्गीकृत नागरिकता लिनेहरू आमा–बुवासमेत अङ्गीकृत नागरिकता लिएकाहरूको परिवार छन्। पन्ध्र वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अङ्गीकृत नागरिकता पाएका परिवारबाहेक अन्यले पाएका छैनन्।

न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्। नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिने गरेका हुन्। जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए। २५ हजार चार सय ८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .