टाटा मोटर्सको लागि आधिकारिक विक्रेता सिप्रद्धि टेड्रिङ प्रा.लिले साउन १२ अर्थात २७ जुलाईमा टाटाको नेक्सन इभी सार्वजनिक गर्ने भएको छ। भारतमा सर्वाधिक विक्री भैरहेको नेक्सन इभी अब नेपाली बजारमा सार्वजनिक हुने भएको हो।
टाटाले नेक्सन ईभी भित्र्याइ नेपालमा ‘टेस्ट ड्राइभ’ गरिसकेको छ।
टाटाको एसयुभी नेक्सन नेपाली बजारमा लोकप्रिय गाडीको रुपमा परिचित रहेको छ। नेपाली ग्राहाक बलियो र आकर्षक डिजाइन रहेको नेक्सन इभीको पर्खाइमा छन्।
टाटाले गतवर्ष नै नेक्सनको इभी नेपाल ल्याउने तयारी गरेको थियो तर सरकारले विद्युतीय गाडीमा कर बढाएसँगै टाटाले आफ्नो योजना स्थगन गरेको उल्लेख गरेको थियो।
सरकारले गत जेठ १५ मा जारी गरिएको आर्थिक अध्यादेश माफर्त विद्युतीय गाडीमा बढाएको कर खारेजसँगै टाटाले विद्युतीय गाडी ल्याउने घोषणा गरेको थियो।
टाटाले अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषणरहीत तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएका जनाएको छ।
कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, बिभिन्न स्थानमा चार्जिङ्ग लगाएतका सुविधाहरु प्रदान गर्नेछ। एक पटककाे फुल चार्जमा ३१२ किलाेमिटरसम्म कुदेकाे छ।
टाटाले नेपालमा ३ वटा भेरियन्टमा विद्युतीय गाडी ल्याउने जानकारी दिएको छ। गाडीको ब्याट्रिमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ भने गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किमीसम्म वारेन्टी रहने छ।
‘इम्प्याक्ट डिजाइन २.०’ अवधारणा अन्तर्गत तयार पारिएको यसको बनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ। गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको
छ।
टाटाले ३०.२ केडब्लुएचको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको उल्लेख गरेको छ। नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ।
ड्राइभ र स्पोट्र्स गरी दुई ‘ड्राइभ मोड’ भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ।
नेक्सन इभी भारतमा २०२० जनवरीमा सार्वजनिक भाएको थियो। भारतीय बजारमा विद्युतीय एसयुभीमा नेक्सनले ७५ प्रतिशत मार्केट सेयर रहेको छ।
कम्पनीले नेक्सन इभीको मुल्य भने सार्वजनिक गरेको छैन। सिप्रद्धिका अनुसार नेक्सन इभीको मुल्य ४० लाख देखी ४५ लाख भित्र हुने छ।
प्रतिक्रिया