अटो


यात्रीले बनायो अर्को मोडल, कुलमानले गरे पी–वान मोटरसाइकलको टेस्ट ड्राइभ

यात्रीले बनायो अर्को मोडल, कुलमानले गरे पी–वान मोटरसाइकलको टेस्ट ड्राइभ

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ८:४,

नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ।

बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले टेष्ट ड्राइभ गरेका थिए।

२०७६ पुसमा पहिलो पी जिरो मोडलको बाइक सार्वजनिक गरेको यात्रीले नयाँ मोडल पी–वान निर्माण गरी सर्वसाधारणलाई टेष्ट ड्राइभ गर्न दिएको हो।

कम्पनीले सहरी क्षेत्रको यातायात सौन्दर्यलाई पहिल्याउने आफ्नो मिसन अघि बढिरहेको जनाएको छ।

nicholas pandey p1

‘पी वानलाई धेरै मानिससमक्ष पु¥याउने हाम्रो लक्ष्य छ। हामी विश्वस्त छौँ यो अर्को प्रोजेक्टजस्तो नभई पी–वानसँगै सही दिशामा अघि बढेका छौँ’, कम्पनीले उल्लेख गरेको छ।

कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेको सहयोगमा बत्सल पाण्डे, असिम पाण्डेलगायतको टिमले यात्री मोटरसाइकल व्यावसायिक रुपमा उत्पादन गर्ने योजना अघि बढाएको छ।

विक्रम पाण्डेका छोरा निकोलस पाण्डेले यात्रीको पी–वान मोडल टेष्ट ड्राइभ गर्दै उक्त बाइक ३ घण्टामा फुल चार्ज हुने जानकारी दिए।

उनका अनुसार पी–वान मोडलको मोटरसाइकल एकपटकको चार्जमा १२० किमिसम्म चल्नेछ। कम्पनीले मूल्य भने सार्वजनिक गरेको छैन।

यात्री मोटरसाइकलले लिथियम आयनको ब्याट्री प्रयोग गरेको छ। लिथियम आयनमा पनि फरक–फरक रसायन प्रयोग गरिएको हुन्छ। पावर ट्रेनमा कुनै कम्प्रमाइज नहोस् भनेर उच्चस्तरको रसायन प्रयोग गरेको कम्पनीले जनाएको छ।

p one bike2021

विद्युतीय बाइकको लागि महत्वपूर्ण कुरा चार्जिङ हो। बजारमा आएका धेरै विद्युतीय बाइकहरु चार्ज गर्न ६ देखि ८ घण्टा चार्ज गर्नुपर्छ। तर यात्रीमा पावरफुल चार्जबोर्ड रहेकाले दुई घण्टामै फुल चार्ज हुने दाबी गरिएको छ।

कम्पनीका संस्थापक असिम पाण्डे यात्री मोटरसाइकल इन हाउस डिजाइन भएको बताउँछन्।

‘सबै हाम्रो आफ्नो कलमबाट डिजाइन भएको हो। लाइट, सफ्टवेयर सबै आफ्नै डिजाइन हो’, पाण्डे भन्छन्, ‘यो फुल नेपाली डिजाइनमा नेपालमै बनेको विद्युतीय बाइक हो।’

२०७६ पुसमा सार्वजनिक गरेको पी–जिरो मोडलमा ३० किलोवाटको मोटर रहेको छ। यात्री मोटरसाइकल एकपटक चार्ज गरेपछि २३० किमि गुड्न सक्ने कम्पनीले जनाएको छ।

kulman p1 bike4

यात्री टोलीले दक्षिण कोरियाली कम्पनीको प्राविधिक सहयोगमा ब्याट्रीमा काम गरिरहेको छ। यसको चार्ज साइकल २ हजार रहेको छ। यसको मतलब औसत ८ वर्ष ब्याट्रीको फुल क्यापासिटीमा काम गर्छ।

कुनै पनि कम्पनीले नट बोल्ट, टायरदेखि आफैँ नबनाई केही महत्वपूर्ण कुरा मात्रै आफैँ बनाउने पाण्डे बताउँछन् ।

‘धेरैभन्दा धेरै अटो उद्योग सप्लाई चेनमै चलेको हुन्छ। टायर, सस्पेन्स, ह्विल सेट, ब्रेक बनाउने छुट्टाछ्ट्टै कम्पनी हुन्छ’, उनी भन्छन्।

यात्री मोटरसाइकलले विश्वबजारमै प्रतिस्पर्धा गर्ने गरी आफ्नो योजना अघि बढाएको बताएको छ।

यो पनि – ‘यात्री’को भविष्य : नेपाली ब्रान्ड बनेर विश्वसँग प्रतिस्पर्धा !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad