अटो


सवारी कारवाहीबाट ९१ लाख राजस्व संकलन

सवारी कारवाहीबाट ९१ लाख राजस्व संकलन

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १०:१,

गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/७६ मा कारवाहीमा परेका चालकबाट ९१ लाख १९ हजार ५०० राजस्व संकलन भएको छ ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन्। सो अवधिमा कारवाहीमा परेका चार हजार २ सय ६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५ सय ४७ ट्र्याक्टरबाट रु नौ लाख २५ हजार २५ तथा दुई हजार ८ सय ३९ मोटरसाइकलबाट १८ लाख ४९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए।

आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उनले बताए। उनले भने, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन्।”

आव ०७४÷७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट ७९ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७ सय ७० ट्रक र मिनी ट्रकबाट २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट १२ लाख ३७ हजार, दुई हजार ६ सय ४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्र्याक्टरबाट पाँच लाख ६८ हजार ५ सय, तीन हजार ३ सय ३९ मोटरसाइकलबाट २१ लाख २२ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएको छ तर पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन। ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .