वर्कशप व्यवसायीले विभिन्न निकायका फरक–फरक नियमले अलमलमा परेको बताएका छन्।
संघीय सरकारले वैशाख २६ पछि वर्कशप सञ्चालन गर्न पाउने बताए पनि स्थानीय तहले भने वर्कशप खोल्न नदिएको व्यवसायीले बताएका हुन्।
अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर न्यौपानेले उपत्यकामा वर्कशप खुलेको तर देशभर खुल्न नसकेको जानकारी दिए।
‘संघले सबै वर्कशप खोल्न पाउने निर्णय गरेको छ। तर स्थानीय तहले दिएका छैनन्’, महासचिव न्यौपानेले नेपालखबरसँग भने, ‘उपत्यकाका पालिकाहरुले फेरि नयाँ नियम ल्याउनलागेको सुनेको छु।’
न्यौपानेले वर्कशपमा मेकानिक्स आउजाउको समस्या रहेको बताए।
‘सरकारको पहिलेको निर्णयअनुसार संस्थाको कार्ड लिएर आउजाउ गर्न छाडेको थियो। अहिले फेरि जुन संस्थामा वर्कशप दर्ता भएको हो, त्यहाँबाट पास ल्याउनुपर्छ भनेको छ’, उनले भने।
उनले वर्कशपमा कार्यरत मेकानिक्सको संख्या, डब्लुएचओले भनेअनुसारको कोभिड १९ बाट जोगिने सुरक्षाका विधि कसरी अपनाएको छ भनेर वर्कशप सञ्चालन अनुमति लिएका ठाउँमा बुझाउनुपर्ने भनिएको बताए। हाल वर्कशपहरु वाणिज्य विभाग, साना तथा घरेलुमा दर्ता छन् भने कुनै कुनै नगरपालिकामा मात्रै दर्ता भएका छन्।
‘विशेष सावधानी अपनाई काम गरिरहेका छौं’
ललितपुर अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष राज कुमार विश्वकर्माले वर्कशपमा विशेष सावधानी अपनाएर काम गरिरहेको बताए।
‘वर्कशपमा डोरी टाँगी बाहिर रहेकालाई भित्र आउने अनुमति छैन’, अध्यक्ष विश्वकर्माले भने, ‘सेनिटाइजर, ह्यान्डवास त भइहाल्यो पीपीई समेत लगाएर काम गरेका छौं।’
उनले संघमा आबद्ध भएका मेकानिक्सहरुको परिचयपत्रले आउजाउको गरिरहेको बताए।
‘सबै वर्कशप सञ्चालकसँग त कार्ड थियो। मेकानिक्सलाई सम्बन्धित वर्कशपको कार्ड बनाई वितरण सुरु गरेका छौं’, उनले भने।
सर्भिसमा आउने सवारीलाई हेन्ड पम्पले डिस्इन्फेक्सन गराइरहेको उनको भनाइ छ।
पार्टस पसलमा पनि सावधानी अपनाएर काम गर्न डोरी टांगेर एक/एक जना जाने गरेको उनले सुनाए।
‘व्यवसाय सञ्चालन गर्न त अझै पनि रिस्क छ नि ! ग्राहक बाहिरबाट आएको हो कि कहाँको हो थाहा हुँदैन। त्यसले गर्दा हामीले विशेष सावधानी अपनाउनुपर्छ’, उनले भने, ‘ मेकानिक्स साथीहरुले अरु खर्च जति पनि गर्ने तर आफ्नो सुरक्षाको लागि ध्यान दिँदैनन्।’
उनले अहिले पैसा कमाउने बेला नभई आफू सुरक्षित रहेर सेवा गर्ने बेला भएको बताए।

प्रतिक्रिया