अटो


भारतीय अटो एक्स्पोमा विद्युतीय सवारीसाधनको दबदबा, यी हुन् चर्चित उत्पादनहरू

भारतीय अटो एक्स्पोमा विद्युतीय सवारीसाधनको दबदबा, यी हुन् चर्चित उत्पादनहरू

नेपालखबर
फागुन १, २०७६ बिहिबार १२:१८,

भारतमा १५औं ग्रेटर नोयडा अटो एक्स्पो बुधबार सकिएको छ। एक्स्पोको मुख्य आकर्षण विद्युतीय सवारीसाधन रहेका थिए।

भारतले २०३० पछि पेट्रोल र डिजेलका गाडी दर्ता नगर्ने घोषणा गरेसँगै कम्पनीहरु विद्युतीय गाडी बजारमा ल्याउन अध्ययन गरिरहेका छन्। अटो एक्स्पोमा केही कम्पनीले विद्युतीय कन्सेप्ट कारको सार्वजनिक गरेका छन् भने कसैले विद्युतीय गाडी नै लञ्च गरेका छन्।

डिजेल पेट्रोलका गाडीले वातावरण प्रदूषण अत्यधिक गरेको भन्दै विश्वभर वातावरणमैत्री विद्युतीय गाडीको विषयमा अनुसन्धान भइरहेको छ। भारतमा सार्वजनिक भएका अधिकांश गाडी नेपाल आउने सम्भावना भएकाले नेपालीहरुलाई पनि भारतमा कस्ता विद्युतीय गाडी सार्वजनिक भए भन्ने चासो हुने गरेको छ।

विद्युतीय गाडीले बजार ल्याउनथाले पनि लामो दूरीको लागि ब्याट्रीको पावर कम रहेको छ। अधिकांश कारहरुको एक पटकको चार्जमा ३ सयदेखि ४ सय किमि गुड्न सक्ने गाडी सार्वजनिक भएका छन्।

यी हुन् भारतमा शोकेस गरिएका विद्युतीय कार
अल्ट्रोज विद्युतीय
टाटा मोटर्सले अल्ट्रोज विद्युतीय कार शोकेस गरेको थियो। सन् २०२० को अन्त्यसम्म भारतीय बजारमा आउने विश्वास गरिएको छ। भारतमा यसको मूल्य १४ लाख बढी हुने अनुमान गरिएको छ। एकपटकको चार्जमा ३ सय किमिसम्म गुड्न सक्ने क्षमताको हुने बताइएको छ। त्यस्तै टाटा मोटर्सले ‘सिएरा’ विद्युतीय एसयूभी कार कन्सेप्ट सार्वजनिक गरेको छ। एसयूभी सेगमेन्टमा आउने बताइएको गाडीको विषयमा अध्ययन भइरहेको छ।

‘फ्युचरो–ई’
मारुती सुजुकी भारतको ठूलो गाडी उत्पादक हो। कम्पनीले एक्स्पो २०२० मा ‘फ्युचरो–ई’ विद्युतीय कार कन्सेप्ट सार्वजनिक गरेको छ। एसयूभी सेगमेन्टमा सार्वजनिक हुने भनिएको उक्त गाडीको स्पेसिफिकेसन भने सार्वजनिक गरिएको छैन। १५ लाख भारु बराबरको मूल्य हुने बताइएको छ ।

रेनो के–जेटई
रेनोले विद्युतीय रेनो के–जेटई एक्स्पोमा लञ्च गरेको छ। उक्त गाडीको सबैभन्दा राम्रो विशेषता ८० प्रतिशतसम्म चार्ज ३० मिनेटमै हुने कम्पनीले दाबी गरेको छ। ब्याट्रीले एसी र डीसी दुवै चार्जिङ सपोर्ट गर्ने जानकारी दिएको छ।

महिन्द्रा इ–एक्सयूभी ३००
महिन्द्राको कम्प्याक विद्युतीय ईएक्सयुभी ३०० अटो एक्स्पोमा शोकेस गरिएको हो। १३० बीएचपी पावर जेनेरेट गर्ने गाडीले एकपटकको चार्जमा ३ सय किमि गुड्न सक्ने बताइएको छ। स्ट्यान्डर्ड र एक्स्टेन्डेड गरी दुई मोडलमा सार्वजनिक गरिएको छ। यो कार २०२१ मा बजारमा आउने बताइएको छ ।

एमजी ई२००
लिथियम आयन ब्याट्रिमा आउने एमजी ई२००मा एकपटको चार्जमा २३० किमि गुड्ने बताइएको छ। एलईडी लाइट, मल्टी फंक्सनल स्टेरिङ ह्विल, ७ इन्च टच स्क्रिन डिस्पे र मल्टीपल एयरब्याग रहेको छ। कारको उच्चतम गति १३० किमि प्रतिघण्टा रहेको छ ।

फक्सवागन आईडी क्रोज
उच्चतम गति १८० किमि प्रतिघण्टा रहेको यो कार एसयुभी र कूप सेगमेन्टमा रहेको छ। एक पटकको चार्जमा ५ सय किमिसम्म गुड्नसक्ने रहेको कम्पनीले दाबी गरेको छ। ८० प्रतिशत चार्ज हुनको लागि ३० मिनेट लाग्ने बताइएको छ।

कुन–कुन कम्पनीले सार्वजनिक गरे विद्युतीय बस?


नोयडा अटो एक्स्पोमा ओलेक्ट्रा बीवाईडीको ‘सी ९’ विद्युतीय बस शोकेस गरिएको छ। भारतमा २ सय बढी बीवाईडीका बस विभिन्न सहरमा गुडेका छन्। १२ मिटर लामो सी ९ एसी डिलक्स डिजाइनमा छ। ४५ सिट भएको बस ३६० किलोवाट पावर रहेको बसमा प्रतिघण्टा १०० किमि गुड्नसक्ने बताइएको छ।

जेबीएम अटोले एक्स्पोमा २ वटा विद्युतीय बस लञ्च गरेको छ। इको–लाइफ ई–९ र ई १२ इलेक्ट्रिक बस ल्याएको हो। एकपटकको चार्जमा यी बस १२५ देखि १५० किलोमिटर गुड्न सक्ने बताइएको छ। त्यस्तै फोर्स मोटर्सले एक्स्पोमा ३ वटा विद्युतीय बस लञ्च गरेको छ। कम्पनीले ५५ सिटे र ३३ सिटे विद्युतीय बस सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad