World Cup 2026


१६ वर्षपछि विश्वकप उद्घाटन खेलमा भिड्दै छन् मेक्सिको र दक्षिण अफ्रिका

१६ वर्षपछि विश्वकप उद्घाटन खेलमा भिड्दै छन् मेक्सिको र दक्षिण अफ्रिका

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १९:२२, काठमाडौँ

क्यानडा, मेक्सिको र अमेरिका सहआयोजक रहेको फिफा विश्वकप फुटबल २०२६ बिहीबार रातिबाट सुरु हुँदै छ।

नेपाली समय अनुसार रातको १२ः ४५ बजे आयोजक मेक्सिको दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिएसँगै प्रतिक्षाको घडी सकिनेछ।

मेक्सिको सिटी स्टेडियममा यी दुई टोली १६ वर्षपछि आमनेसामने हुनेछन्। यसअघि सन् २०१० को विश्वकपमा पनि उद्घाटन खेलमै आमनेसामने भएका यी टोली त्यसयता भिडेका छैनन्।

त्यतिबेला आयोजक दक्षिण अफ्रिका थियो। संयोग यस्तो जुरेको छ १६ वर्षपछि अब दक्षिण अफ्रिका मेक्सिकोको सामना गर्न उसैको मैदानमा जाँदै छ, त्यो पनि उद्घाटन खेलमा। यो खेल ब्राजिलियन रेफ्री विल्टन साम्पाइओले खेलाउनेछन्।

यी दुई टोलीसँगै समूह ए मा दक्षिण कोरिया र चेक रिपब्लिका छन्। दोस्रो खेलमा बिहान ७ः४५ बजे यी दुई टोली भिड्नेछन्।

खेलअघि मेक्सिकोका प्रशिक्षक जेभियर अगुइरेले घरेलु मैदानको फाइदा आफ्नो टोलीले उठाउने विश्वास व्यक्त गरेका छन्। 

‘मैले घरेलु मैदानमा विश्वकप खेल्नुभन्दा ठूलो रोमाञ्चक फुटबल ५० वर्षको अनुभवमा गरेको छैन। मैले धेरै कुरा भोगेको छु, तर यो अविस्मरणीय छ। मैले खेलाडीलाई यही भनेको र मलाई लाग्छ कि मैले उनीहरुलाई विश्वस्त पारेको छु। उनीहरु सहज महसुस गर्छन्। यो धेरै शक्तिशाली कुरा हो’, प्रशिक्षक अगुइरेले भने। 

दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले पनि मेक्सिको बलियो टोली भएको बताए। मेक्सिकोविरुद्ध कठिन खेल हुने भएपनि त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन्। 

‘मेक्सिको समूहको सबैभन्दा बलियो टोली हो। त्यसैले हाम्रो लागि भोलि धेरै कठिन खेल हुनेछ। म तपाईंहरुलाई आश्वस्त पार्न सक्छु कि मेरो टोली तयार छ र हामी प्रत्येक मिनेट र प्रत्येक बलको लागि पूरा ९० मिनेट लड्नेछौँ’, प्रशिक्षक ह्युगोले खेलअघि भने। 

क्वार्टरफाइनल पार गर्न नसकेको मेक्सिको 
१८औँ पटक विश्वकप खेलिरहेको मेक्सिको क्वार्टरफाइनलबाट अगाडि जान सकेको छैन। यसअघि दुई पटक विश्वकपको आयोजना गरेको मेक्सिको दुवै पटक घरेलु मैदानमा क्वाटर फाइनलमा पुगेको थियो।

मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो। पछिल्लो पटक सन् १९८६ मा घरेलु मैदानमा भएको १३ औँ विश्वकपमा क्वाटरफाइनलमा पुग्नु नै अहिलेसम्मको उच्च सफलता हो। 

पहिलो पटक सन् १९३० मा उरुग्वेमा विश्वकप खेल्दा र अन्तिम पटक कतारमा भएको विश्वकपमा पनि मेक्सिको समूहचरणबाटै बाहिरिएको थियो। सन् २०२२ को कतार विश्वकपमा एक हार, एक बराबरी र एक जितका बाबजुत पनि मेक्सिको समूह चरण पार गर्न असफल भएको थियो।

समूह ‘सी’मा रहेको टोली पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि परिचित विश्वकप प्रतिद्वन्द्वी अर्जेन्टिनासँग २–० ले पराजित भयो।

अन्तिम खेलमा साउदी अरेबियालाई २–१ ले पराजित गरे पनि अघिल्लो चरणका लागि पर्याप्त भएन। सन् १९८६ को टोलीका अनुभवी जेभियर अगुइरेको प्रशिक्षणमा मेक्सिको यसपालि अन्तिम आठ पार गरेर प्रतियोगितामा पहिलेभन्दा सफलता हात पार्ने खोजीमा हुनेछ। 

मेक्सिकोको लागि उत्कृष्ट विश्वकप भने घरेलु मैदानमै भएको छ। टोलीले क्वार्टरफाइनलमा पुग्न घरेलु दर्शकको अधिकतम सदुपयोग गरेको छ। १९७० मा इटालीसँग ४–१ को हार र १९८६ मा तत्कालीन पश्चिम जर्मनीविरुद्ध पेनाल्टी सुटआउटमा पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो।

१६ वर्षपछि विश्वकपमा फर्कियो दक्षिण अफ्रिका
सन् २०१० को सफल आयोजनापछि दक्षिण अफ्रिका विश्वकपमा छनोट हुन असफल थियो। 

दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्किएको हो। यो टोलीलाई ह्युगो ब्रुसले नेतृत्व गर्नेछन्। उनले सन् २०२१ मे बाट टोली सम्हालेका हुन्। 

सन् २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि उचाल्न नसकेपछि बेल्जियमका रणनीतिकारलाई टोली पुनर्जीवित गर्ने जिम्मा दिइएको थियो। उनैले थालेन्टे म्बाथा, ओस्विन अपोलिस र एभिडेन्स माकगोपा जस्ता युवा खेलाडीहरुलाई डेब्यू गराए। उनीहरुले नै विश्वकप छनोटमा मुख्य भूमिका खेलेका थिए। 

ब्रुसको नेतृत्वमा यो टोलीले २०२३ मा अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हासिल गर्‍यो। तर पूर्व क्यामरुन प्रशिक्षकका लागि मुख्य उदेश्य नै टोलीलाई नकआउटमा पुर्‍याउनु हो। दक्षिण अफ्रिकाले उद्घाटन खेलपछि १८ जुनमा चेक रिपब्लिका र २४ जुनमा दक्षिण कोरियाको सामना गर्नेछ। 

दक्षिण अफ्रिका आफ्नो क्षेत्रको छनोटको समूह सीमा ५ जित, ३ बराबरी र दुई हारसहित शीर्षस्थानमा रहेर विश्वकपमा फर्किएको हो। दक्षिण अफ्रिका चौथो पटक विश्वकप खेल्न लागेको हो। १९९८ मा पहिलो पटक विश्वकप खेलेको टोली २००२ र २०१० मा पनि छानिएको थियो। तर यसअघिका तीनवटै विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

दक्षिण अफ्रिकाको अहिलेसम्मको उच्च प्रदर्शन भने दोस्रो सहभागीतामा थियो। स्लोभेनियालाई १–० ले पराजित गर्दै विश्वकपमा आफ्नो पहिलो जित दर्ता गराएका थिए। पहिलो खेलमा पनि पाराग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो। तर टाइब्रेकरमा पराजित हुँदा नकआउट चरणमा पुग्न चुकेको थियो। अन्तिम खेलमा स्पेनसँग ३–२ दे पराजित भयो र १७ औँ स्थानमा रहँदै यात्रा टुंग्यायो। 

अन्तिम पटक २०१० को विश्वकपमा दक्षिण अफ्रिका समूह चरण पार गर्न नसके पनि चमत्कार गरेको थियो।पहिलो खेलमा मेक्सिकोसँग १–१ को बराबरी खेलेको टोली दोस्रो खेलमा उरुग्वेसँग ३–० ले पराजित भएको थियो। तर अन्तिम खेलमा साविक उपविजेता फ्रान्सलाई २–१ ले पराजित गर्दै उत्साहजनक नतिजा निकालेको थियो।

पछिल्ला खेलमा अपराजित छ मेक्सिको, जितविहीन छ साउथ अफ्रिका
आफ्ना पछिल्ला ५ खेलमा दक्षिण अमेरिकी टोली मेक्सिको अपराजित रहँदा साउथ अफ्रिका भने जितविहीन छ। 

मेक्सिको अन्तिम ५ खेलमा तीन जित र दुई बराबरीको नतिजामा छ। तर दक्षिण अफ्रिकाले ३ बराबरी खेल्दा २ खेलमा हार व्यहोरेको छ।

यी सबै खेल सन् २०२६ कै हुन्। जुन ७ मा जमैकासँग १–१ को बराबरी खेलेको अफ्रिकाले मे २९ मा निकारागुवासँग गोलरहित बराबरी खेलेको थियो। मार्च २७ मा पानामासँग १–१ को बराबरी खेलेको अफ्रिका अरु २ खेलमा भने पराजित छ। 

जनवरी ५ मा क्यामरुनसँग र मार्च ३१ मा पानामासँग समान २–१ ले पराजित भएको थियो। यी दुई टोली भने तेस्रो पटक भिड्न लागेका हुन्। जसमा एक एक जित र एक खेल बराबरीमा टुंगिएको छ। २०१० को विश्वकपमा १–१ को बराबरी खेल्नु पहिले २००५ जुलाई ९ मा दक्षिण अफ्रिकाले २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। 

तर त्यसअघि २००० जुन ८ मा मेक्सिकोले ४–२ ले जित हासिल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad