सुदूरपश्चिम


सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार: भीम रावल-प्रेम आलेदेखि बिना मगर-प्रकाश शाहसम्म

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार: भीम रावल-प्रेम आलेदेखि बिना मगर-प्रकाश शाहसम्म

गोकुल जोशी
माघ ५, २०८२ सोमबार ११:६, काठमाडौँ

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। जसमा पूर्वमेयर, मन्त्री, मुख्यमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म समेटिएका छन्।

नेकपाका नेता जनक बुढाले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकिएको जानकारी दिए।

उनका अनुसार नेकपाले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डगौंरा थारुलाई उम्मेदवार बनाएको छ। उनी गत २०७९ को चुनावमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाको मेयर बनेका हुन्।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाले राजेन्द्र साउदलाई टिकट दिएको छ भने ३ मा विरमान चौधरीलाई अघि सारेको छ।

साउद र चौधरी दुवै माओवादी पृष्ठभूमिका नेता हुन्।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कैलालीका १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले जितेको थियो। 

यसपटक कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपाबाट माओवादी पृष्ठभूमिका हरिराम चौधरी उत्सव चुनाव लड्ने भएका छन्।

उता कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपाले पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आले मगरलाई उठाउने भएको छ। उनी नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा सामेल भएका नेता हुन्।

कञ्चनपुर १ मा नेकपाले पूर्वमन्त्री बिना मगरलाई टिकट दिएको छ। उनी पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी हुन्। 

२०७९ को चुनावमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार बनेकी मगर एमालेका तारालामा तामाङसँग हारेकी थिइन्। 

कञ्चनपुर २ मा भने नेकपाले २ जनालाई टिकट दिँदा अन्योल सिर्जना भएको छ। 

साविक एकीकृत समाजवादीको भागमा परेको यस क्षेत्रमा नेकपाले सुदूरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्कालाई टिकट दिइसकेको अवस्थामा सोमबार बिहान फेरि नेता माधव पन्तले आफूलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधव नेपालले टिकट दिइरहेको भिडिओ सार्वजनिक गरेका छन्।

यसैगरी कञ्चनपुर ३ मा नेकपाबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री मानबहादुर सुनारले चुनाव लड्ने भएका छन्। उनी माओवादी पुष्ठभूमिका नेता हुन्।

यस्तै अछाम निर्वाचन क्षेत्र–१ मा भने नेकपाले पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री भीम रावललाई उम्मेदवार बनाएको छ।

एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान घोषणा गरेर केही समय दलगत राजनीतिबाट टाढा रहेका रावल नेकपा गठन भएलगत्तै यसमा आबद्ध भएका हुन्।

२०७९ को चुनावमा उनलाई एमालेले टिकट खोसेर चुनाव लड्नबाट रोकेको थियो।

अछाम २ मा नेकपाले माओवादी पृष्ठभूमिका शरदसिंह भण्डारी उठाउने भएको छ भने एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। उनी पनि माओवादी पृष्ठभूमिकै नेता हुन्।

यसैगरी नेकपाले एक-एक निर्वाचन क्षेत्र रहेका जिल्ला डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुवर र बैतडीमा परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ। 

बैतडीका भट्ट एकीकृत समाजवादी पृष्ठभूमिका हुन् भने माल, कुँवर र जोशी माओवादी पृष्ठभूमिका नेता हुन्।

बाजुरामा नेकपाले सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश शाहलाई टिकट दिएको छ। उनी नेकपा एमाले त्यागेर नेकपामा सामेल भएका नेता हुन्।

नेकपाको उम्मेदवार सूची हेर्दा साविकका नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादीबाट ३, नागरिक उन्मुक्ति पार्टीबाट १, मातृभूमि जागरण अभियानबाट १ र एमाले त्यागेका १ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad