ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा माओवादीलाई ‘क्लिन स्विप’ गराएका भण्डारी, प्रचण्ड सरकारमा दोस्रोपटक मन्त्री

सुदूरपश्चिममा माओवादीलाई ‘क्लिन स्विप’ गराएका भण्डारी, प्रचण्ड सरकारमा दोस्रोपटक मन्त्री

गोकुल जोशी
फागुन २४, २०८० बिहिबार १५:२५, कञ्चनपुर

२०७९ पुस ११ गते नेकपा एमालेका नेता दामोदर भण्डारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री नियुक्त भए।

सुरुमा बिनाविभागीय मन्त्री बनेका भण्डारीले नियुक्तिको केही समयपछि उद्योग, वाणिञ्ज तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाए। उनले करिब २ महिना मन्त्रालय हाँके।

चुनावताकाको वाम-लोकतान्त्रिक गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न एकाएक एमालेसँग सहकार्य गरेपछि भण्डारीलाई मन्त्री बन्ने अवसर आएको थियो।

तर एमालेसँगको प्रधानमन्त्री प्रचण्डको त्यो गठबन्धन राष्ट्रपति चुनावका कारण टुट्यो। माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई होइन, कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्‍यो र राष्ट्रपतिमा जितायो।

त्यसपछि रिसाउँदै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो। जसका कारण भण्डारीको मन्त्री पद २ महिनामै गुमेको थियो।

तर त्यसको एक वर्ष नबित्दै फेरि उनी त्यही सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भएका छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै फेरि एकाएक एमालेकै साथमा फर्किएपछि कांग्रेस हठात् सत्ताबाट बाहिरिन पुगेको छ भने एमाले सरकारमा भित्रिएको छ। 

भण्डारीले बुधबारै पद तथा गोपनीयताको शपथ खाँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालिसकेका छन्।

भण्डारी सुदूरपश्चिमबाट तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमालेबाट संसद् यात्रा तय गर्ने दुई नेतामध्ये एक हुन्।

एमालेका तर्फबाट सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर १ बाट तारा लामा तामाङ र बैतडीबाट भण्डारी निर्वाचित भएका थिए।

माओवादीलाई ‘क्लिन स्विप’ गराएको त्यो क्षण
कांग्रेससँग तालमेल गरेर चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ क्षेत्रमध्ये ४ वटामा आफ्ना उम्मेदवार उठाएको थियो।

माओवादी केन्द्रबाट कैलाली क्षेत्र नं. २ मा भगतबहादुर बढुवाल, क्षेत्र नं. ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर १ मा बिना मगर र बैतडीमा नरेन्द्रबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा होमिएका थिए। 

सुरुमा मतपरिणाम सार्वजनिक भएका कैलाली २, ३ र कञ्चनपुर १ मा माओवादीका उम्मेदवार भारी मतान्तरले हारे। 

बैतडीमा एमालेका उम्मेदवार भण्डारी र माओवादी उम्मेदवार नरेन्द्रबहादुर कुँवरबीच कडा टक्कर भएको थियो। बैतडी जितेको भए माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा ‘क्लिन स्विप’ हुनबाट जोगिने थियो।

मतगणनाका क्रममा भण्डारी र कुँवर थोरै मतले अघिपछि भइरहेका थिए। तर अन्ततः एमाले उम्मेदवार दामोदर भण्डारी माओवादी नेता कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै विजयी भए। यसरी भण्डारीले सुदूरपश्चिममा माओवादी केन्द्रलाई ‘क्लिन स्विप’ गराएका थिए।

तर उनै भण्डारी अहिले माओवादी नेतृत्वकै सरकारमा दोस्रोपटक मन्त्री बनेका छन्। 

संसद् र मन्त्रालयमा ‘ह्याट्रिक’ 
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा होमिएका थिए- भण्डारी। विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका उनी ०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका थिए।

त्यसपछि उनी ०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य भएका थिए। भण्डारी ०५४ सालमा जिल्ला कमिटीका उपसचिव भए। 

उनले ०५६ देखि ०६४ सम्म एमाले बैतडी जिल्ला नेतृत्व सम्हाले। यसबीच उनले एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हाले। 

पाटन नगरपालिका–६ का भण्डारीको जन्म २०३० कात्तिक २० गते भएको थियो। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

माओवादी–कांग्रेसको गठबन्धनविरुद्ध एक्लै चुनावी प्रतिस्पर्धा गरेर तेस्रोपटक संसद्‌मा पुगेका एमाले नेता भण्डारीले मन्त्रालयमा पनि ‘ह्याट्रिक’ गरेका छन्। 

पहिलोपटक ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भण्डारी विजयी भएका थिए। त्यसबेला उनले कांग्रेसका उम्मेदवार लोकराज अवस्थीलाई हराएर संसद् यात्राको सुरुवात गरेका थिए। 

०७४ मा पनि उनले अपराजित चुनावी यात्रा कायमै राखे। त्यसबेला भण्डारीले कांग्रेस नेता नरबहादुर चन्दलाई हराए। यसबीच उनी अर्थ राज्यमन्त्री पनि भए। 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने भण्डारी माओवादीका उम्मेदवार कुँवरसँग हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .