ad ad

सुदूरपश्चिम


एकीकृत समाजवादीले समर्थन फिर्ता लियो, ‘निर्णायक’ नाउपालाई फकाउँदै कांग्रेस

एकीकृत समाजवादीले समर्थन फिर्ता लियो, ‘निर्णायक’ नाउपालाई फकाउँदै कांग्रेस

गोकुल जोशी
फागुन २४, २०८० बिहिबार १५:५४, कञ्चनपुर

नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको हो।

नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको छ। एकीकृत समाजवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री रहेका नरेश शाहीलाई बिहीबार बिहान मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेको थियो।

त्यस लगत्तै बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता दीर्घ सोडारीले बताए।

उनका अनुसार समर्थन फिर्ता लिएकोबारे प्रदेश प्रमुख र प्रदेश सभा सचिवालयमा समेत जानकारी गराइसकिएको छ।

यसअघि नेकपा माओवादी केन्द्रका तीन मन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि उसले पनि समर्थन फिर्ता लिइसकेको छ।

संघमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको हो। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

अहिले प्रदेश सभामा कांग्रेसका १८ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा छ।

नाउपासँग प्रदेश सभामा ७ जना सांसद छन्। नाउपाले नयाँ गठबन्धनमा जाने/नजाने कुनै आधिकारिक निर्णय गरिसकेको छैन। अहिले सरकारमै यथावत छ।

अहिलेको सरकारलाई नाउपाले समर्थन कायम राखे सरकार जोगाउन अझै २ सांसद आवश्यक पर्ने देखिन्छ। कांग्रेस सुदूरपश्चिम प्रदेश सरकार जोगाउने कसरतमा छ। त्यसका लागि नाउपासहित राप्रपा र स्वतन्त्र सांसदसँग छलफल अघि बढाइरहेको छ।

सुदूरपश्चिम प्रदेश सभामा राप्रपा र स्वतन्त्रबाट १/१ सांसद छन्। निर्णायक शक्तिका रुपमा रहेको नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गरिरहेको छ।

नाउपा सामेल नभए एमाले नेतृत्वको गठबन्धनले सुदूरपश्चिममा प्रदेश सरकार बनाउन कठिन अंकगणित छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माअ‍ोवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। नाउपा तत्काल पर्ख र हेरको अवस्थामा रहेर कांग्रेस र नयाँ गठबन्धनसँग मुख्यमन्त्रीमा दाबी पेश गरेर छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .