सुदूरपश्चिम


कांग्रेस सत्तामा फर्किएसँगै मन्त्री बन्न रस्साकस्सी, यी हुन् आकांक्षी

कांग्रेस सत्तामा फर्किएसँगै मन्त्री बन्न रस्साकस्सी, यी हुन् आकांक्षी

गोकुल जोशी
माघ २७, २०७९ शुक्रबार १०:५३, कञ्चनपुर

तत्कालीन वाम लोकतान्त्रिक गठबन्धन छिन्नभिन्न भएपछि सत्ता विमुख नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट सत्तामा फर्किएसँगै मन्त्री बन्न रस्साकस्सी चलेको छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कमलबहादुर शाह बिहीबार सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री भएका छन्।

शाह मुख्यमन्त्री भएसँगै शुक्रबार पद तथा गोपनीयताको शपथ खाने तयारी छ। मुख्यमन्त्रीले शपथ खाँदा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने कांग्रेसको तयारी छ।

मुख्यमन्त्री शाह अहिले मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफलमा छन्। ‘तत्काल दुई जना मन्त्री नियुक्त हुन सक्छन्, कसलाई मन्त्री नियुक्त गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन’, कांग्रेसका एक नेताले भने।

नेकपा एकीकृत समाजवादी र कांग्रेसबाट एक÷एक जना मन्त्री नियुक्त हुने ती नेताको दाबी छ। नेकपा एकीकृत समाजवादीबाट संसदीय दलका नेता दीर्घ सोडारी मन्त्री बन्ने पक्कापक्की छ। उनले बिहीबारै कांग्रेससँग सहकार्य गरेर जाने उद्घोष गरिसकेका छन्।

नेपाली कांग्रेसमा मन्त्रीका लागि करिब ६ जना आकांक्षी देखिएका छन्। कांग्रेस सांसद प्रकाश देउवा, बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट र मानबहादुर रावलले मन्त्रीका सशक्त दाबेदार हुन्। 

उनीहरूले मन्त्रीका लागि शक्ति केन्द्रसँग लबिङ गरिरहेका छन्। सभापति देउवाका भतिजासमेत रहेकाले प्रकाश देउवा मन्त्री बन्ने सम्भावना बढी रहेको चर्चा छ।

‘केन्द्रले कसलाई मन्त्री बनाऊँ भन्छ, त्यसैअनुसार अगाडि बढ्छौं,’ ती नेताले भने, ‘अहिले नै मन्त्रिमण्डलले पूर्णता पाउँदैन, सानो मन्त्रिमण्डल बन्छ, त्यसका लागि अहिले हामीहरू पनि छलफलमै छौँ।’

मुख्यमन्त्री शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ खाने निश्चित भए पनि समय एकिन भइसकेको छैन।

नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए।

‘समय एकिन भइसकेको छैन, मुख्यमन्त्री र प्रदेश प्रमुखज्यू छलफलमै भएकाले सम्भवतः दिउँसो ३ बजेपछि शपथ हुनसक्छ,’ उनले भने। 

सत्तामा पुगेपछि मुख्यमन्त्रीसँगै केही मन्त्री पनि नियुक्त गरेर शपथ गराउने कांग्रेसले तयारी गरेको छ। 

‘मुख्यमन्त्रीज्यूले आजै शपथ लिनुहुन्छ, कति बेला शपथ लिँदा उचित हुन्छ भनेर शुभ साइत जुराउँदै हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत जुटाउन नसक्दा बिहीबार मुख्यमन्त्रीबाट हटेका थिए। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको हो।

संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि धारा ३ सक्रिय भएर कांग्रेस सत्तामा पुगेको छ। नवनियुक्त मुख्यमन्त्री शाहले पनि एक महिनामा विश्वासको मत लिइसक्नु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .