ad ad

सुदूरपश्चिम


पाँच वर्ष सरकार हाँकेको माओवादी सुदूरपश्चिममा किन बढारियो?

पाँच वर्ष सरकार हाँकेको माओवादी सुदूरपश्चिममा किन बढारियो?

गोकुल जोशी
मंसिर १३, २०७९ मंगलबार १९:३१, महेन्द्रनगर

संघीयतापछि पहिलो पटक बनेको प्रदेश सरकारको पाँच वर्ष नेतृत्व गर्ने अवसर थोरैले पाए। केन्द्रको राजनीतिक समीकरणमा आएको फेरबदलको असर प्रदेशमा पनि पर्यो। 

जसका कारण अधिकांश प्रदेशमा पूर्ण कार्यकाल कुनै एउटै राजनीतिक दलको नेतृत्व कायम रहन सकेन। तर सुदूरपश्चिम र मधेश प्रदेशमा भने यसको कुनै असर परेन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो। ओलीले दुई पटक गरेको संसद विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनःस्र्थापना गरेपछि देशले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार पायो। 

सँगै प्रदेशमा पनि एमाले इतरको गठबन्धनको सरकार बन्यो। यस्तो अवस्थामा पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व पाँच वर्षसम्म माओवादी केन्द्रका त्रिलोचन भट्टले गर्ने मौका पाए।

उनलाई माओवादीले भने जस्तै एजेन्डा लागू गर्न कुनै समस्या पनि थिएन। पाँच वर्ष सुदूरपश्चिमको नेतृत्व गरेको माओवादी केन्द्र यसपटकको चुनावमा बढारिएको छ।

नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ एउटा पनि सीट जित्न सकेको छैन। गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुदूपश्चिमका १६ क्षेत्रमध्ये ४ क्षेत्रमा उम्मेदवारी दिएको थियो।

माओवादीबाट कञ्चनपुर १ मा बिना मगर, कैलाली २ मा भगत बढुवाल, कैलाली ३ मा कृष्णकुमार चौधरी र बैतडीमा नरेन्द्रबहादुर कुँवर गठबन्धनको साझा उम्मेदवार बनेका थिए। उनीहरु कसैले पनि नजित्दा प्रतिनिधि सभातर्फ माओवादी क्लिन स्वीप भएको हो।

०७४ मा नेकपा एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रबाट कैलाली ४ मा लेखराज भट्ट, कैलाली ३ मा गौरीशंकर चौधरी र कञ्चनपुर १ मा बीना मगर निर्वाचित भएका थिए।

०७४ मा माओवादीमा रहेका भट्ट र चौधरी नेकपा विघटन पछि एमालेमा समाहित भएका थिए। यसपटक एमालेबाट उम्मेदवार बनेका उनीहरुले पनि जित निकाल्न सकेनन्।

प्रदेश सभामा पनि माओवादी केन्द्र यसपटक कमजोर देखिएको छ। ०७४ मा माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रदेश सभामा १० सीट जितेको थियो। यसपटक प्रदेश सभाको प्रत्यक्षतर्फ माओवादी ८ सीटमा खुम्चिएको छ।

गठबन्धनबाट माओवादी केन्द्रको भागमा प्रदेश सभातर्फ १२ सीट परेका थिए। बाजुरामा मतदानको दिन भएको विवादले अझैसम्म मतगणना हुन सकेको छैन।

०६४ को पहिलो संविधानसभा चुनावमा सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रबाट माओवादी विजयी भएको थियो। त्यसपछि ०७० मा माओवादी १ सिटमा खुम्चिएको थियो। 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा कांग्रेसमा भर पर्दा कमजोर नतिजा आएको माओवादी नेताहरुको विश्लेषण छ। 

‘गठबन्धनको बढी भरोसा गर्यौं, तर कांग्रेसको जुन किसिमले मत ट्रान्सफर हुनपर्थ्यो, त्यो हुन सकेन,’ माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढा भन्छन्, ‘हामीले २ वटा क्षेत्र कैलालीमा पाएका थियौं, त्यहाँ नागरिक उन्मुक्तिको उदयलाई पनि रोक्न सकेनौं।’

माओवादी केन्द्रले आन्तरिक तयारी र उम्मेदवार छनोटमा ध्यान नदिँदा पनि नतिजा कमजोर आएको स्थानीय नेता कार्यकर्ताको भनाइ छ। 

‘टिकट हचुवाको भरमा आफू निकटलाई बाँडियो, जनतासँगको सम्बन्धमा को कति लोकप्रिय छ भन्नेतर्फ ध्यान दिइएन,’ कञ्चनपुरका एक माओवादी नेताले भने, ‘आन्तरिक तयारी पनि खासै नपुगेको देखिन्छ।’

चुनावमा माओवादी केन्द्र विभाजनको असर पनि देखा परेको छ। माओवादीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नेकपा विघटन हुँदा एमालेमा समाहित भएका थिए। 

प्रदेशका पुराना नेता मूल पार्टी छोडेर जाँदा कार्यकर्ता पंत्तिमा खिन्नता देखिएकाले यसले पनि चुनावमा असर परेको माओवादीका सुदूरपश्चिम प्रदेश कमिटीका एक नेताले बताए। 

‘लेखराजसहित केही नेता एमालेमा गए, त्यसको मानसिक असर माओवादीमा परेको छ,’ ती नेताले भने, ‘नेतृत्व नै अर्को पार्टीमा गएपछि कार्यकर्ताको मनोबल पनि कमजोर भएको छ, यसले पनि केही असर गरेको देखिन्छ।’

नेकपा माओवादीभित्रको गुटबन्दी मौलाएको छ। संगठन निर्माण र जनतासँगको सम्बन्ध बढाउनुभन्दा गुट बनाउने र एकले अर्कोलाई सिध्याउनेतर्फ नेताहरु उद्धत रहेको माओवादी नेताहरु बताउँछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बिना मगर र  मुख्यमन्त्री त्रिलोचन भट्ट तथा इन्चार्ज खगराज भट्ट यहाँ अलग अलग गुट चलाउँछन्।

‘गुट बनाएर एकले अर्कालाई निस्तेज गर्ने गर्दछन्, टिकट पनि गुटगत, निकटता हेरेर दिइन्छ,’ माओवादी नेता बताउँछन्, ‘त्यसको असर निर्वाचनमा पनि देखिन्छ, यो पुरानै रोग हो।’

विगतमा सशस्त्र युद्धताका गरेका वाचा र अहिले नेताहरुमा देखिने व्यवहारले पनि माओवादी केन्द्र कमजोर बन्दै गएको टिप्पणी हुने गरेको छ।

माओवादीले पाँच वर्ष प्रदेश सरकार चलाउँदा पार्टीसँग समन्वय नगरेको, चुनावमा गरेको वाचा अनुसार जनपक्षीय काम गर्न नसकेको आरोप पनि छ।

प्रतिनिधि सभामा अपेक्षाकृत नतिजा नपाए पनि प्रदेश सभातर्फ अपेक्षाकृत नतिजा आएको प्रदेश कमिटी सचिव बुढा सुनाउँछन्। 

‘केही साताभित्र कुन क्षेत्रमा के कारणले पराजय भोग्नु पर्यो, गहन रुपमा छलफल गर्छौं’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .