सुदूरपश्चिम


कांग्रेस सुदूरपश्चिम संसदीय दलमा विवाद: शाहलाई हटाउन बहुमत सांसदको हस्ताक्षर

कांग्रेस सुदूरपश्चिम संसदीय दलमा विवाद: शाहलाई हटाउन बहुमत सांसदको हस्ताक्षर

गोकुल जोशी
जेठ १९, २०८३ मंगलबार १६:५६, कञ्चनपुर

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्रको विवाद चर्किंदै गएको छ। मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध बहुमत सांसदहरूले मोर्चाबन्दी कसेका छन्। 

कांग्रेस सुदूरपश्चिमका एक सांसदका अनुसार शाहलाई संसदीय दलको नेताबाट हटाउने गरी बहुमत सांसद एकजुट भएका छन्। 

ती सांसदका अनुसार संसदीय दलको नेताबाट हटाउन बहुमत सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताको प्रक्रियामा गएका छन्। 

प्रदेश सभामा रहेका कांग्रेसका १८ सांसदमध्ये लामो समयदेखि प्रकाश देउवा देशबाहिर छन्। ९ जना सांसद एकजुट भएर शाहविरुद्ध हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको ती सांसदले बताए। 

संसदीय दलको नेता फेर्दै सरकार परिवर्तन गर्ने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। 

कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए। उनीहरूले राजीनामा नदिए दल नेताबाट हटाइदिने धम्की दिँदै आएका थिए। 

मुख्यमन्त्री शाहले पनि दल नेताबाट हटाउन चुनौती दिँदै आएका थिए। मुख्यमन्त्री शाहविरुद्व अविश्वास प्रस्ताव दर्ता गर्न ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बैठक बसेको थियो। 

शाह इतर सांसदहरूको बैठक अहिले पनि चलिरहेको छ। शाहविरुद्व अविश्वास प्रस्तावमा दिवानसिंह बिष्ट र मानबहादुर रावल,  सचेतक गीता चौधरी, प्रदेशसभा सदस्यहरू तुलसी देवकोटा, डम्मरी महरा, पदमबहादुर शाही, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानीले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad