जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहज, छिटो तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ हुलाकमार्फत घरमै राहदानी पुर्याउन थालेको छ।
प्रशासन कार्यालयले राहदानी वितरण प्रक्रियालाई थप सरल, प्रभावकारी र आधुनिक बनाउन नयाँ व्यवस्था लागू गरेको हो। यो सेवाको सुरुवातसँगै राहदानी तयार भएपछि सेवाग्राहीले कार्यालयमै पुगेर बुझ्नुपर्ने बाध्यता हटेको छ।
वालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएपछि घोषणा गरिएको १०० बुँदे शासकीय सुधारको सूचीको २७ नम्बर बुँदामा ‘राहदानी, लाइसेन्स, नागरिकता जस्ता सरकारी कागजात हुलाकमार्फत् सेवाग्राहीको घरमै पुर्याइनेछ’ उल्लेख छ।
सोही योजनाअनुसार कञ्चनपुरमा ‘गभर्मेन्ट कुरियर सर्भिस’ जनताको घरदैलोमा पुग्न थालेको हो। राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीले सम्बन्धित फारम भरेर हुलाकमार्फत राहदानी प्राप्त गर्ने विकल्प रोज्न सक्नेछन्।
त्यसपछि राहदानी तयार हुँदा हुलाक सेवामार्फत सेवाग्राहीले उल्लेख गरेको ठेगानामै सुरक्षित रूपमा पठाइनेछ। सेवा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि राहतपूर्ण हुने अपेक्षा गरिएको छ।
समय अभाव, टाढाको यात्रा र कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले राहदानी बुझ्न कठिन हुने सेवाग्राहीलाई यो व्यवस्थाले प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ।
यसअघि राहदानी तयार भएपछि सेवाग्राही स्वयं कार्यालय पुगेर बुझ्नुपर्ने व्यवस्था रहेकाले लामो दूरी तय गर्नुपर्ने, लामो लाइनमा बस्नुपर्ने र समय खर्चिनुपर्ने समस्या हुँदै आएको थियो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत यो सेवा विस्तार गरेको जनाएको छ।
कार्यालयका अनुसार नागरिकको सुविधा र समयको बचतलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार गर्ने प्रयास जारी राखिएको छ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले प्रशासन कार्यालयले नागरिकलाई अझ सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको बताए।
‘नागरिकलाई सरकारी सेवा सहज, छिटो र झन्झटरहित रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘राहदानी लिनकै लागि फेरि कार्यालयसम्म आउनुपर्ने अवस्था हटाउने उद्देश्यले हुलाकमार्फत घरमै पुर्याउने सेवा सुरु गरेका हौँ।’
यसले विशेषगरी टाढाका सेवाग्राहीलाई ठूलो राहत हुने उनको भनाइ छ। उनले आगामी दिनमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर थप सहज र प्रभावकारी सेवा विस्तार गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया