कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरिएसँगै सञ्चालनमा आएको छ। आज यहाँ आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्पतालको उद्घाटन गरेका छन्।
मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्न नहुने स्पष्ट पार्दै कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरी १०० शय्या विस्तार गरिने जानकारी दिए। उनले लम्कीचुहा प्रादेशिक अस्पतालमा यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने घोषणा गरे।
मुख्यमन्त्री शाहले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै ट्रमासेन्टर स्थापना गर्ने बाटो खुलेको बताए। उनले ५० शय्याभन्दा कमका अस्पतालमा ट्रमासेन्टर सञ्चालन गर्न कठिन हुने भएकाले प्रादेशिक अस्पतालको संरचना आवश्यक भएको स्पष्ट पारे।
प्रदेश सरकारले प्रदेश गठन आदेशअनुसार प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसङ्ग पनि उल्लेख गरे। अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण नबनाइएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।
सुदूरपश्चिम प्रदेश सरकारले आव २०८०/८१ देखि प्रदेश मातहत रहेका अस्पतालको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको थियो।
उक्त नीतिअनुसार सरकारले आवश्यक बजेट विनियोजन गरिएको थियो। आव २०८२/८३ मा सोही नीतिलाई निरन्तरता दिँदै अस्पतालको स्तरोन्नति प्रक्रिया अघि बढाइएको हो। पहिलो चरणमा डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो।
लम्कीचुहा नगरपालिकाले १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न औपचारिक सिफारिस गरेपछि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको थियो। विसं २०८२ जेठ २६ गते नेपाल सरकार मन्त्रिपरिषद्ले प्रदेश सरकारमार्फत सञ्चालन गर्न स्वीकृति प्रदान गरेको थियो।
प्रदेश सरकारले पटकपटक लम्कीचुहा नगरपालिकालाई सम्झौताका लागि पत्राचार गर्दा पनि पालिकाको व्यवस्था र अवरोधका कारण प्रादेशिक अस्पताल सञ्चालन र सेवा विस्तारमा ढिलाइ भइरहेको थियो। यसैबीच, डडेल्धुराको जोगबुढा अस्पताल भने स्थानीय तहसँग समयमै सम्झौता भई सञ्चालनमा आइसकेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गरेको छ भने लम्कीचुहा प्रादेशिक अस्पतालका लागि १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ। अस्पताल सञ्चालनमा आएसँगै अब आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। यसले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
लम्कीचुहा प्रादेशिक अस्पताल स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीयले मुख्यमन्त्री शाहप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्। यसैबीच, मुख्यमन्त्रीले लम्कीचुवा नगरपालिका वडा नं १० चुहामा रहेको लम्केचुहा प्रादेशिक अस्पताल भवनको अनावरण पनि गरेका छन्। '
यो अस्पताल उद्घाटनको विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबिच लामो समयदेखि विवाद चल्दै आएको थियो।
Shares

प्रतिक्रिया