सुदूरपश्चिम


सामुदायिक वनबाट १६४ रुख गायब, जसले संरक्षण गरे उनैले सखाप पारे

छानबिन गर्दै डिभिजन वन
सामुदायिक वनबाट १६४ रुख गायब, जसले संरक्षण गरे उनैले सखाप पारे

गोकुल जोशी
मंसिर २१, २०८२ आइतबार १७:४२, कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा रहेको गौरीघाट सामुदायिक वनमा व्यापक वन फडानी भएको पाइएको छ। सामुदायिक वनबाट १ सय ६४ रुख काटेर गायब पारिएको भेटिएको हो। 

१० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा खयर, सिसौ र कञ्जुलगायतका रुख काटिएका छन्। त्यसमा केही साना र केही ठूला आकारका छन्। 

सामुदायिक वनमा भएको रुख चोरीको घटना अनुसन्धानका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सबडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहको नेतृत्वमा छानबिन समिति गठन भएको छ।

‘एक/दुई घण्टाभित्रै ठूलो संख्यामा मानिस आएर रुख कटान भएको छ। केही रुख पहिल्यै काटिएका रहेछन्। केही अहिले काटिएका छन्,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डीसीले भने, ‘स्थानीयकै संलग्नता छ। को हुन? भनेर पहिचान खुलिसकेको छैन। छानबिन गर्दैछौं।’

संलग्न केही मजदुरको तस्बिर प्रहरीमार्फत आएकोले सोको आधारमा समेत अनुसन्धान भइरहेको उनले बताए। सामुदायिक वनका १ सय ६४ रुख गायब पारिएको हो। 

सबडिभिजन वन कार्यालयले काम गरिरहेकोले अहिले नै काठको मात्रा यकिन गर्न नसकिएको उनले बताए। 

वन फडानीपछि सामुदायिक वनको किनारतिर मात्रै अब रुख बाँकी छन्। सामुदायिक वनमा गतिलो तारबार छैन। वनको क्षेत्रमै वडा कार्यालय र स्वास्थ्य कार्यालय छ। नजिकै खेल मैदान पनि जोडिएको छ। 

सामुदायिक वनको चारैतिर बस्ती छ। सामुदायिक वन लथालिङ अवस्थामा हुँदा फडानी भएको हो। वि.सं. २०५४ सालमा सुकुम्बासी कब्जा गर्न आएपछि स्थानीयले संरक्षण गरेर वृक्षारोपण गर्दै सामुदायिक वन बनाएका थिए। 

सुरुमा स्थानीयले नै संरक्षण गरेको सामुदायिक वन पछिल्लो समय निष्कृय जस्तै थियो। सामुदायिक वनमा चौकीदार समेत छैनन्। वनमा यसअघि पनि धेरै रुख कटान भएको पाइएको छ।

विवाह ब्रतबन्धदेखि अन्तिम संस्कारसम्मका कामका लागि सोही वनबाट रुख कटानी हुने गरेको स्थानीय बताउँछन्। 


‘दाउरा खुलेको छ भन्ने गाउँमा हल्ला थियो। बिहिबार मात्रै धेरै मान्छे रुख कटान गरिहेका थिए,’ स्थानीय चन्द्रबहादुर ऐडी भन्छन्, ‘अगाडि पनि आवश्यक पर्दा गाउँलेले वनबाट काठ ल्याउँथे।’
सामुदायिक वनमा घेरबारदेखि अन्य गतिलो व्यवस्थापन नहुँदा काठ चोरी भएको सचिव राजेन्द्र अवस्थी बताउँछन्।

‘बारम्बार माग गर्दा पनि घेरबार भएन। बजेट पनि केही थिएन।  स्थानीयले पनि संरक्षणमा केही चासो देखाएनन्,’ उनले भने, ‘दुई वर्षदेखि बैठक नै बसेको छैन। बोलाउँदा न समितिका मान्छे आउँछन् न स्थानीय। हामीले नसक्ने भएपछि तपाईहरु नै संरक्षण गर्नुहोस् भनेर वनलाई बुझाउन गयौं।’


तर वेवास्ता हुँदा यस्तो अवस्था सृजना भएको उनले बताए। आफूहरु काठ चोरी घटनाको छानबिनका लागि सघाउन तयार रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad