सुदूरपश्चिम


बीबीएस पढ्दै गर्दा युट्युबबाट सिके गँड्यौलाको मल बनाउने सिप, अहिले वर्षमा कमाउँछन् ७ लाखसम्म

कामको खोजीमा विदेश जानुपरेको छैन : उत्तम सुनार
बीबीएस पढ्दै गर्दा युट्युबबाट सिके गँड्यौलाको मल बनाउने सिप, अहिले वर्षमा कमाउँछन् ७ लाखसम्म

आफ्नो फार्ममा उत्तम सुनार


गोकुल जोशी
भदौ १५, २०८२ आइतबार ९:५१, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ विष्णुटोलका २६ वर्षीय उत्तम सुनार दुई वर्षअघि बीबीएस पढ्दै थिए। परिवारका जेठा छोरा उनलाई पढाइसँगै कमाउनुपर्ने बाध्यता थियो।

यसका लागि उनी गँड्यौलाबाट मल उत्पादन गर्ने सोचमा थिए। तर कसरी? केही जानकारी थिएन।

यसपछि उनले युट्युबमा गँड्यौला प्रयोग गरेर जैविक मल उत्पादन गर्ने तरिका सिके। 

अहिले उनी गँड्यौलाबाट जैविक मल उत्पादन गर्ने मात्र होइन, गाउँका अरूलाई पनि यस विषयमा तालिम दिन्छन्।

गँड्यौला प्रयोग गरेर जैविक मल उत्पादन गर्ने काम उत्तम दामसहित नाम पनि कमाइरहेका छन्। 

‘गँड्यौला मलको बारेमा सुनेको थिएँ। तर कसरी गर्ने भन्ने केही थाहा थिएन,’ उत्तमले नेपालखबरलाई आफ्नो अनुभव सुनाए, ‘युट्युबमा हेरेर त्यसको सिप सिकेँ। त्यसले यो व्यवसाय गर्न धेरै सघाउ पुर्‍यायो।’ 

गँड्यौला मलको माग धेरै आउने गरेको छ। माग पूर्ति गर्न उनलाई हम्मेहम्मे परिरहेको छ।

उत्तमले २ लाखको लगानीमा ४ बेडबाट जैविक मल उत्पादन सुरु गरेका हुन्। चन्द्रा बर्मी कम्पोस्ट एग्रो फार्मलाई उनले अहिले विस्तार गरेका छन्।

‘सुरुआतममा बाँसको अस्थायी टहरा बनाएर सानो ४ बेडमा गरेको थिएँ। अहिले २४ बेड छन्। आफैँ प्याकेजिङ गरेर मल बिक्री गर्छु,’ उत्तमले भने, ‘विभिन्न ठाउँबाट माग धेरै आएको छ। पूरा गर्न सकिएको छैन।’

गँड्यौला व्यवसायमा उत्तमको परिवार नै लागेको छ। उनका बुवा, आमा र भाइले व्यवसायमा सघाइरहेको छन्। 

मल उत्पादनका लागि सुरुमा झारपात, गोबर, पानी र गँड्यौलाको जोहो गरिन्छ। छाया पर्ने, हावापानीको असर कम हुने, पानी नजम्ने ठाउँमा यिनलाई कुहाइन्छ। 

बेडमा गँड्यौला पनि राखिन्छ। यसरी राखिएको ३ महिनापछि मल तयार हुने उत्तम बताउँछन्। 

तयार भएको कम्पोस्ट कालोखैरो रङको, माटोजस्तो गन्ध हुने मललाई छानेर प्याकेट वा बोरामा हालेर बिक्रीका लागि पठाइन्छ। 

गँड्यौला मलले माटोको उर्वरशक्ति बढाउने हुनाले अन्नबाली, तरकारी, फलफूल तथा फूलबारीमा प्रयोग गरिने भएकाले यसको माग बढ्दो छ। 

‘एक बेडमा ८ क्विन्टलजति कच्चापदार्थ राखिन्छ। २ क्विन्टलसम्म मल उत्पादन हुन्छ,’ उनले भने, ‘तयार भएको २४ बेडकै पूरै मल सकियो। अझै माग आइरहेकै छ।’

जैविक मलका साथै गँड्यौला पनि बिक्री गर्ने गरेको उत्तमले बताए। मल २ हजार ५ सय रुपैयाँ क्विन्टलका दरले बिक्री गर्ने गरिएको छ। तीन, पाँच र २० किलोग्रामका छुट्टाछुट्टै प्याकमा मल बिक्री भइरहेको छ।

‘महेन्द्रनगर, धनगढीलगायत ठाउँमा मल पठाइएको छ। अढाई लाखको मल बिक्री भइसक्यो,’ उनले भने, ‘माग धेरै आइरहेकाले अझै व्यवसाय विस्तार गर्ने तयारीमा छु।’

वर्षमा एक लाख रुपैयाँसम्मको गँड्यौला पनि बिक्री गर्ने गरिएको उनले बताए। सबै खर्च कटाएर वर्षमा मल र गँड्यौलाबाट ५ देखि ७ लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

‘यहीबाट कमाइएको पैसाले घरखर्च चलेको छ। कामको खोजीमा विदेश जानु परेको छैन,’ उनले भने, ‘स्वदेशमै आफ्नै उद्यम गरेर आम्दानी गर्न पाउँदा निकै खुसी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad