सुदूरपश्चिम


दिउँसो झगडा मिलाए, मध्यराति भयो हिंसात्मक झडप

जेलर र निमित्त जेलर बिदामा
दिउँसो झगडा मिलाए, मध्यराति भयो हिंसात्मक झडप

गोकुल जोशी
साउन २४, २०८२ शनिबार २२:३५, कञ्चनपुर

बिहीबार बेलुका कैलाली कारागारमा दुई समूहबीच झडप भयो। झडपमा ५ जना घाइते भए। कैदी स्थानान्तरणको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो। 

त्यसपछि अर्को दिन कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणा लगायत सुरक्षा समितिको टोली कारागार पुगेको थियो।

कारागारको ब्लक ए र बीका कैदीबीच झडप भएको थियो। सुरक्षा समितिको टोलीले दुवै पक्षसंग छुट्टा छुट्टै छलफल गरेर सम्झाएका थियो। 

कैलालीका सीडीओ हमालले त्यसपछि शुक्रबार दिउँसो पत्रकारहरुसंग भनेका थिए, ‘कैदीबन्दीलाई सरुवा गर्ने क्रममा केही प्रतिरोध भएको थियो। त्यहाँ गु्रपिजमको देखिने सम्भावना पनि छ। हामीले उनीहरूलाई सम्झाउने र बुझाउने काम गरिरहेका छौँ। अब त्यस्तो समस्या आउँदैन भन्ने प्रतिवद्धता गराएका छौं।’

तर त्यसै मध्यराति कारागारमा हिंसात्मक झडप भएर रणभूमिमा परिणत भयो। झडपका क्रममा कुटपिटमा परेर कैदी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ, भने ४७ जना कैदी घाइते भएका छन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। झडपमा कुटपिटपछि कैदीको मृत्यु भएपछि कारागार तनावग्रस्त छ।

‘हामीले बाहिरै खबर पाएका थियौं, त्याँ ग्याङ फाइट हुनेवाला छ भनेर। प्रशासनलाई पनि जानकारी गराइसकेका थियौं,’ एक घाइते कैदीका आफन्तले भने, ‘नभन्दै त्यस्तै भयो। एक जनाले ज्यान नै गुमाउनुपर्‍यो। प्रशासनको सुरक्षा कमजोरीले घटना भएको हो।’   

शुक्रबार मात्रै होइन यसअघि पनि कैलाली कारागारमा झडप भइरहन्थे। २८ असारमा कारागारका नाइके खगेन्द्र बोगटी कुटिए। त्यसअघि २ असारमा बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएको थियो। 

पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले २९ जेठमा जिल्ला सदरमुकामबाटै पक्राउ गरेको थियो। एक दिन थुनामा राखेर ३० गते कैलाली प्रहरीलाई बुझाएको थियो। १ असारमा कैलाली प्रहरीले पालीलाई कैलाली कारागारमा बुझाएको थियो।

२ असारको राति पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याइएका उनको उनको मृत्यु भएको थियो। उनको शरीरमा चोटपटक भएकाले कुटपिटबाट मृत्यु भएको हुनसक्ने पोष्टमार्टम रिपोर्टले संकेत गरेको थियो।

पालीको घटनाका अभियुक्त जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हरिजित नाथ पुर्पक्षका लागि थुनामा छन्। उनै नाथले मृतक पालीविरुद्ध २८ भदौ २०८० मा बैंकिङ कसुरमा मुद्धा दिएका थिए।

कारागारमा तारन्तार सामूहिक झडप भइरहँदा गम्भीर सुरक्षा चुनौती निम्त्याएको छ। निरन्तर झडप भएर अशान्त भइरहेका बेला कारागार प्रशासन भने अस्तव्यस्त देखिएको छ। 

कारागारका जेलर बसन्त खत्री साउन ३ गतेदेखि स्वास्थ्यको कारण देखाउँदै विदामा छन्। निमित्त जेलरको जिम्मेवारी पाएका नायवसुब्बा ज्ञानेन्द्र ओझा पनि बिदामा छन्।

कैदीबन्दी सरुवाको विषय र आफ्नो वर्चश्व कायम गर्न सामूहिक झडप भइरहेको बताइन्छ। कैलालीमा विभिन्न समूह बनाएर आपराधिक क्रियाकलापमा संलग्नहरु कारागार पुगेपछि उनीहरूले जेलमै समूह बनाएर अराजक गतिविधि गरिरहेका छन्। 

भूपेन्द्र बडूवाल हत्या प्रकरणमा जेल परेका १४ अभियुक्तलाई ३ वटा अन्य कारागारमा सरुवा गरिएको छ। कारागारभित्र कसैले सरुवाको विरोध र कसैले अन्यको पनि सरुवा हुनु पर्ने भन्दै विरोध गर्दै आइरहेका थिए।

भूपेन्द्र हत्या प्रकरणका अभियुक्तको सरुवा भएपछि नयाँ समूह बनाएर कारागारभित्र दबदबा चलाउन होडबाजी चलेको र सोही क्रममा झडप भइरहेको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad