सुदूरपश्चिम


दार्चुलामा तुइनको सास्ती : जसको भर, उसकै डर

दार्चुलामा तुइनको सास्ती : जसको भर, उसकै डर

गोकुल जोशी
साउन ११, २०८२ आइतबार १८:१, काठमाडौँ

दशकअघि नेपाललाई तुइन मुक्त बनाइने घोषणा गरियो। वि.सं. २०७२ असोज २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरेर दुई वर्षभित्र तुइन विस्थापित गर्ने घोषणा गरेका थिए।

तर सुदूरपश्चिमको दार्चुलाका स्थानीय अझै तुइन चढ्नु पर्ने बाध्यतामा छन्। झोलुङ्गे पुल त परको कुरा दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीयले बाटो नै पाएका छैनन्। 

जोखिमपूर्ण तुइन चढ्नु पर्ने बाध्यतामा रहेका यहाँका स्थानीय तुइन चुँडिएर महाकालीमा हेलिएर वर्षेनी ज्यान गुमाउन विवश छन्। गत असार ३१ म व्याँस गाउँपालिका-२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएर महाकाली बिलाए। 

गर्भवती श्रीमतीका लागि सरसामान ल्याउन सदरमुकाम खलंगा आइरहेका उनी तुइन चुढिएर महाकालीमा झरेका थिए। केहीवर्षअघि उनै नारायणका काका जयसिंह बुढाथोकी पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भए। 

गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए। अघिल्लो वर्ष स्थानीय सचिन बुढाथोकी तुइन तर्ने क्रममा महाकालीमा खसे।

दार्चुलामा महाकाली तर्न तुइनको प्रयोग गर्दा वर्षेनी बेपत्ता भइरहेका छन्। वि.सं. २०५० सालयता दार्चुलाको व्याँस गाउँपालिका क्षेत्रका २३ जना महाकालीमा बिलाएका छन्। 

सरकारले झोलुङ्गे पुल निर्माण गरेर तुइन हटाउने भनेको दशक बितिसक्दा पनि तुइन चढ्नु पर्ने बाध्यता हट्न सकेको छैन। तुनइको विकल्पमा झोलुङ्गे पुल चढ्न पाउनु त परको कुरा आफ्नै भूमिमा सहज बाटोको सुविधा पाएका छैनन्, यहाँका स्थानीयले।

व्याँसबासीलाई नेपालतर्फबाट खलंगा आउजाउ गर्ने बाटो सजिलो छैन। कठिनाइ र जोखिमपूर्ण बाटो भएकाले त्यस क्षेत्रका स्थानीय भारतको बाटो भएर खलंगा आउजाउ गर्ने गर्छन्। महाकाली पारी भारततर्फ सडकमा गाडी चल्ने भएकाले त्यस क्षेत्रका स्थानीय सोही बाटोमा गाडी चढेर खलंगा आउने गर्छन्। 

व्याँसबासीलाई भारततर्फ जान महाकाली तगारो बन्छ। दुम्लिङमा महाकाली तर्न झोलुङ्गे पुल छैन। तुइनको सहारामा महाकाली तरेर आउजाउ गर्नु पर्ने बाध्यतामा छन्, स्थानीय।

‘दुम्लिङनजिक मालघाटमा एउटा झोलुङ्गे पुल छ। त्यहाँ पुग्न बाटो राम्रो छैन। कठिन बाटो भएकाले महाकालीमा लुकीछिपी तुइन हालेर वारिपारी गर्नु पर्ने बाध्यता छ,’ व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेन बुढाथोकी भन्छन्। 

व्याँस गाउँपालिका क्षेत्रमा महाकाली तर्न वडा नम्बर ६, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाटमा झोलुङ्गे पुल छ। छाङरु, तिंकरका लागि सीतापुलमा काठे पुल छ।

यद्यपि, महाकालीमा रहेका झोलुङ्गे पुल टाढा टाढा छन्। त्यहाँसम्म पुग्न नेपाली भूमिमा सहज बाटो नभएकाले तुइन चढेरै महाकाली तर्नु पर्ने बाध्यता छ।

‘दुम्लिङमा पुल अनिवार्य छ। त्यसका लागि सम्बन्धित निकायमा धेरै धायौँ। भारतले अनुमित दिने गरेको छैन भन्ने कुरा सुनिन्छ,’ बुढाथोकी भन्छन्, ‘न हिड्न बाटो छ। न महाकाली तर्न पुल। सरकारले हाम्रो पीडा कहिले सुन्ला?’

नेपालीलाई महाकाली तर्न तुइनकै भर छ। ठाउँ ठाउँमा लुकीछिपी तुइन हालेर महाकाली वारिपारी गर्ने गर्छन्। एसएसबीले तुइन हटाउने हुनाले उनीहरुलाई डर पनि छ। जोखिम मोलेर भएपनि तुनइमै वारिपारी गर्न  स्थानीय बाध्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad