सुदूरपश्चिम


पक्की घर हुँदाहुँदै छाउगोठमा सुत्न गएकी थिइन् कमला, सर्पले डस्दा गयो ज्यान

पक्की घर हुँदाहुँदै छाउगोठमा सुत्न गएकी थिइन् कमला, सर्पले डस्दा गयो ज्यान

कमला आउजी र उनी सुतेको छाउगोठ


गोकुल जोशी
असार २९, २०८२ आइतबार ९:२२, कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजी महिनावारी भइन्। त्यसैले पक्की घर छँदाछँदै उनी घरनजिकैको जीर्ण र सानो छाउगोठमा सुत्न गइन्। 

त्यही क्रममा शुक्रबार मध्यराति उनलाई ओछ्यानमै सर्पले डस्यो। 

उपचारका लागि सेती प्रादेशिक अस्पतालमा त पुर्‍याइयो तर शनिबार उनको मृत्यु भयो।

इलाका प्रहरी कार्यालय (झलारी) का प्रहरी निरीक्षक राजेश बस्नेतले कमलालाई शुक्रबार राति साढे १२ बजेतिर सुतेकै ठाउँमा सर्पले टोकेको जानकारी प्राप्त भएको बताए। 

उनले भने, ‘हिजो (शनिबार) राति उपचारका क्रममा उनको मृत्यु भएको छ।’

प्रहरीले छाउगोठमा सुत्दा हो कि कहाँ भन्ने विषयमा प्रस्ट जानकारी नआएको र बुझ्ने क्रम जारी रहेको बताएको छ।

तर स्थानीयले उनलाई छाउगोठमा सुतेकै बेला करेत सर्पले डसेको नेपालखबरसँग बताएका छन्। 

कमलाको सुरक्षित पक्की घर छ।

कमलाको घर

तर अन्धविश्वासका कारण महिनावारीका बेला उनलाई छाउगोठमा बस्न बाध्य पारिएको थियो।

कमलाको परिवार पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुरको निगालीमा आएको हो। 

जहाँ रजस्वला भएका बेला घरमै बस्दा देउता रिसाउँछ भन्ने अन्धविश्वास छ। त्यसो त कृष्णपुरमा छाउगोठ भत्काउने अभियान पनि चलाइएको थियो। 

‘छाउगोठ हटाउन हामी धेरै लाग्यौँ। तर उहाँहरू अन्धविश्वासमा हुनुहुन्छ। महिनावारीका समयमा गोठमा नबसाल्नुभन्दा हामीसँग झगडा गर्न आउनुहुन्छ,’ कृष्णपुर नगरपालिका १ का वडाध्यक्ष मोहन बस्नेतले नेपालखबरसँग भने, ‘छाउगोठ सानो छाप्रो हुन्छ। न त्यहाँ बिजुली हुन्छ न त सुत्नलाई राम्रो ठाउँ। कालकोठरीजस्तो हुन्छ। त्यसैले यस्ता घटना भइरहेका छन्।’

पक्की घर हुँदाहुँदै पनि छाउगोठमा बस्दा दु:खद घटना भइरहेकाले यसतर्फ सबैले सचेतना फैलाउन जरुरी भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad