सुदूरपश्चिम


‘हेपेर बोलेको’ भन्दै भाउजूको हत्या, टुहुरो बने १९ दिने शिशु

गहनाले खोल्यो घटनाको रहस्य
‘हेपेर बोलेको’ भन्दै भाउजूको हत्या, टुहुरो बने १९ दिने शिशु

गोकुल जोशी
असार ८, २०८२ आइतबार १६:८, कञ्चनपुर

कैलालीको गौरीगंगा नगरपालिका ७ की १९ वर्षीया तुलसी नाथले १९ दिनअघि छोरा जन्माइन्। परिवारमा नयाँ सदस्यको आगमनले उल्लास थियो। 

तर छोरा जन्मिएको उल्लास धेरै दिन टिक्न पाएन। गत शुक्रबार बिहान तुलसी घर नजिकै नालामा मृत भेटिइन्। छोरा सकुसलै भेटिएका थिए। 

मृत भेटिएकी तुलसीको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुल्यो। हत्यामा संलग्न तुलसीकै देवर २० वर्षीय नवीनलाई प्रहरीले पक्राउ गरेको छ। 

मृतक तुलसीका श्रीमान् रोजगारीको शिलशिलामा भारतको पुनामा छन्। घरमा तुलसीसँगै उनका देवर नवीन, नवीनकी श्रीमती र उनकी बहिनी बस्थिन्। 

बिहीबार विहान तुलसी शिशुलाई लिएर खोप लगाउन स्वास्थ्य चौकी गइन्। घर फर्किँदा दिउँसो भइसकेको थियो। देवर नवीनले खाना बनाएका थिए। 

आफ्नो लागि भात कम राखेको भन्दै उनीहरूबीच सामान्य विवाद भयो। बेलुका पनि नवीनले नै खाना पकाए। भाउजू, बहिनीले सँगै खाना खाए। नवीनकी श्रीमतीले बिरामी भएको भन्दै खाना खाइनन्।

नवीनले भाउजूसँग भएको विवादलाई इगोको रुपमा लिए। उनी मौकाको पर्खाइमा बसे।

तुलसी शिशु लिएर कोठामा एक्लै सुत्थिन्। नवीन मध्यराति भाउजूको कोठामा पसे। र, उनको मुख थुनेर हत्या गरे। 

‘कुरा काट्ने गरेको र हेपेर बोल्ने गरेकाले धेरै रिस उठेको थियो। रातमा निन्द्रा लागेन। सुतेको कोठामा जाँदा मोबाइल चलाउँदै थिइन्, त्यसैबेला मुख थुनेर मारेँ,’ नवीनले प्रहरी समक्ष अपराध स्वीकार्दै भनेका छन्। 

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार त्यसपछि घटना लुकाउन नवीनले नै शव बाहिर सडक नजिकै फालेका थिए।

अर्कोदिन बिहान नवीनकी बहिनीले भाउजूलाई मृत अवस्थामा देखेकी थिइन्। त्यसपछि तुलसीको शवलाई नालीबाट निकालेर घरको अगाडी राखेर प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले आत्महत्या, सर्पले टोकेको वा अन्य कुनै कारणले मृत्यु भएको हुनसक्ने कोणबाट पनि अनुसन्धान गरेपनि त्यो पुष्टि गर्ने कुनै प्रमाण भेटिएन। 

‘मृत्युको कारण स्पष्ट थिएन। लगाएका गरगहना थिएनन्। गहना चोर्न घटना गराएको भए घाउचोट हुनुपर्ने त्यस्तो पनि थिएन,’ डीएसपी चन्दले भने, ‘निकै सतर्कतापूर्वक गरगहना निकालिएको थियो। गरगहना नपाइएपछि हामी अनुसन्धान लाग्यौँ। पृष्ठभूमि बुझेर अनुसन्धान परिवार केन्द्रित गर्‍यौँ।’

प्रहरीका अनुसार तुलसीले लगाएको गरगहना नवीनले भनेकै ठाउँमा फेला परेका छन्। तुलसीले कानमा लगाउने ८ वटा सुनका रिङ भेटिएका छन्।

नवीनले आफैंले हत्यापछि गरगहना निकालेको प्रहरीसमक्ष बताएका छन्। आर्थिक विषयमा तुलसीको परिवारमा खटपट हुने गरेको थियो। 

नवीन र उनका दाइ पहिले भारतमा सँगै काम गर्थे। उनले कमाएको पैसा श्रीमती तुलसीलाई पठाउँथे र उनैले घरको व्यवहार सम्हालेकी थिइन्।

नवीनलले भाउजू तुलसीसँग पैसा माग्नुपर्‍थ्यो। यस्तोमा भाउजूले आफ्नो बारेमा आफन्त, छरछिमेकीसँग कुरा लगाउने, हेपेर बोल्ने गरेको भन्दै नवीन उनीप्रति निकै क्रोधित थिए।

त्यसैको रिसमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। 

नवीनलाई हिरासतमा राखेर प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

‘घटनामा अन्य कसैको संलग्नता छ कि छैन भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ,’ डीएसपी चन्दले भने, ‘प्रारम्भिक अनुसन्धानबाट देवर एक्लैको संलग्नता देखिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad