ग्लोबल


खामेनीको धर्मसंकट : अमेरिकालाई हान्दा पनि खतरा, पछि हट्दा पनि जोखिम

खामेनीको धर्मसंकट : अमेरिकालाई हान्दा पनि खतरा, पछि हट्दा पनि जोखिम

नेपालखबर
असार ८, २०८२ आइतबार १६:१२,

इरानका शासकहरूले अमेरिकाप्रतिको दुस्मनी कहिल्यै लुकाएका छैनन्। खुल्लमखुला ‘अमेरिका मुर्दावाद’ भन्नेदेखि लिएर जर्नेलको हत्याको विरोधमा उनीहरूले इराकस्थित अमेरिकी सैन्य शिविरमा हमला समेत गरेका थिए।

यसअघि अनेकपटक सैन्य टक्करको सँघारमा पुगे पनि इरान अन्तत: पछि हट्दै आएको थियो। तर अहिले अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बमबारी गरेपछि यो द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको छ।

अमेरिकी हमलापछि इरानी विदेशमन्त्री अब्बास अराग्चीले बदलाको वैध अधिकार आफूहरूसँग रहेको बताउँदै लेखेका छन्, ‘आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षाका लागि इरानले सबै विकल्पलाई खुला राखेको छ।’ यसको चिरस्थायी परिणाम हुने चेतावनी पनि उनले दिएका छन्।

आफूविरुद्धको इजरायली युद्धमा अमेरिका पनि सहभागी भएपछि अब इरानका सामु दुईवटा विकल्प  देखिएका छन्। युद्ध रोज्ने कि कूटनीति? बदला लिने कि पछि हट्ने? 

तर, यी दुवै विकल्प इरानका लागि नराम्रा देखिन्छन्। युद्ध रोजे पनि, कूटनीति रोजे पनि उसका लागि घाटै छ। त्यति मात्र होइन, यसले इरानको झण्डै ५ दशक लामो शासनमाथि समेत प्रश्न उठाउन सक्छ।

इरानले अमेरिकाविरुद्ध बदला लियो भने युद्ध विस्तार हुने सम्भावना ज्यादा छ। डोनाल्ड ट्रम्पले त्यसको धम्की दिइसकेका छन्। 

ठूलो युद्ध भयो र अमेरिका सम्पूर्ण शक्ति लगाएर लडाइँमा होमियो भने इरानको सत्ता ढल्न सक्छ। अथवा इराक वा अफगानिस्तानमा जस्तै अस्थिरता छाउन सक्छ।

यदि इरान पछि हट्यो र युद्धविराम स्वीकार गर्‍यो भने पनि उसका लागि सुखद नतिजा नदेखिन सक्छ। वास्तवमा अमेरिकी आक्रमण सहेर युद्धविराम स्वीकार्ने हो भने इरानको पुरानो छवि ध्वस्त हुनेछ। 

त्यतिबेला उसको सैन्य क्षमता कमजोर देखिनेछ, आणविक क्षमतामा धक्का लागेको हुनेछ। अनि आफूमाथि लागेको कडा नाकाबन्दी हटाउन सौदाबाजीका लागि कुनै कुरा उसँग रहने छैन। 

इरानलाई पश्चिम एसियाको महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिने गरिन्छ। तर, त्यतिबेला उसको यो हैसियत कायम रहने छैन।

‘हामीले जवाफ नदिने हो भने अमेरिकाले हामीलाई बसिखान दिँदैन। सजिलै आएर हामीलाई हान्दै जान सकिने रहेछ भनेर,’ तेहरानका राजनीतिक विश्लेषक रेजा सालेही भन्छन्, ‘यो साता हामीले बेहोर्ने ठूलो चुनौती भनेको वार्ताको टेबलमा बस्ने हो भने अर्को पक्षले हामीसँग अझ ठूलो र नयाँनयाँ माग तेर्स्याउनेछ। जसले अप्ठेरो पार्नेछ।’

इरानले बदलाका लागि सो क्षेत्रका मिलिसियालाई पनि लगाउन सक्छ। तर, लेबनानको हेजबुल्लाह र गाजाको हमासलाई इजरायलले कमजोर पारिसकेको छ।

यमनको हुती मिलिसिया मात्र अलि बलियो छ र लाल सागरमा उसको पकड छ। हुती लडाकुहरूले इजरायली आक्रमणमा अमेरिका सहभागी भए वासिङ्टनसँग मे महिनामा गरिएको युद्धविराम भंग गर्ने अनि लाल सागरमा अमेरिकी जहाज र युद्धपोतलाई निसाना बनाउने धम्की दिइसकेको छ।

यस्तै, इरानले हार्मुज जलसन्धि बन्द गराएर पनि जवाफ दिन सक्छ। कतिपयले त्यसको माग पनि गर्न थालिसकेका छन्।

जलयातायातको मार्गमा रहेको पहुँचका कारण इरानले तेलको बजारमा झट्का दिन सक्छ। जसका कारण तेलको मूल्य आकाशिन्छ र मुद्रास्फिति बढाएर ट्रम्पको आर्थिक एजेन्डामा क्षति पुर्‍याउन सक्ने विश्लेषण पनि गरिन थालिएको छ। 

तर, यी कुनै पनि निर्णय लिन इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका लागि सहज नहुने विश्लेषक आरोन डेविड मिलर बताउँछन्। 

‘खामेनीको लक्ष्य भनेको क्रान्तिको रक्षा गर्नु र यो आफ्ना उत्तराधिकारीहरूलाई हस्तान्तरण गर्नु हो। उनले केही नगरी बस्ने कल्पना गर्न लगभग असम्भव छ,’ उनी भन्छन्, ‘उनले आफ्नो जवाफमाथि पुनर्विचार गर्नुपर्ने हुनसक्छ। तर, मलाई लाग्छ, कुरा यतिमै सकिँदैन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad