सुदूरपश्चिम


घोडाघोडी तालबाट बेसरम झार हटाउन सुरु

घोडाघोडी तालबाट बेसरम झार हटाउन सुरु

नेपालखबर
जेठ २८, २०८२ बुधबार १७:१०, कैलाली

विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ। नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ। 

जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो। सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। 

‘प्रदेश सरकारको रु पाँच लाख बजेटमार्फत मिचाहा प्रजातिको झार हटाउन सुरु गरेका छौँ’, उनले भने। घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ। ‘तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया तथा पूर्वी क्षेत्रमा पनि तालको कुनाकुनामा बेसरमले ढाकेर ताल देखिँदैन। तालमा बेसरमसँगै जलकुम्भी, लहरे वनमारालगायत मिचाहा झारहरू प्रकोप बढ्दै गएका छन्’, उनले भने।
 
यी मिचाहा झारहरूले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न दिँदैनन्, जसले गर्दा पानीभित्रका रैथाने वनस्पति मर्न थालेका वन अधिकृत कँडेलले बताए। ‘यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन्। चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको बासस्थान समेत नष्ट हुन्छ’, उनले भने।

मिचाहा झारलाई समयमा नियन्त्रण गरिएन भने ताल र यहाँको सिमसार, जलिय जैविक विविधता खतरामा पर्ने चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए।

अघिल्लो आर्थिक वर्षमा पनि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत दुई दशमलव पाँच हेक्टर क्षेत्रफलको बेसरम हटाइएको थियो। यसपटक दुई दशमलव आठ हेक्टर क्षेत्रफलको बेसरम हटाइने अधिकृत कँडेलले बताए। 

हत्केला आकारमा फैलिएको घोडाघोडी ताल चराहरूको महत्त्वपूर्ण वासस्थानको रूपमा मानिन्छ। यहाँ विश्वव्यापी रूपमा खतरामा रहेका राजलाहाँचे, राज धनेस, माछाकुल, सेतो गिद्ध, डँगर गिद्ध, सानो खैरो गिद्ध, र भुडिफोर गरुड पाइन्छन्। 

तीन प्रजातिका चरा नाँदुन हाँस, हरिहाँस, बगाले सिम कुखुराले नेपालको घोडाघोडी क्षेत्रमा मात्रै प्रजनन गर्ने गर्दछन्। यसका साथै अजिङ्गर ,सालक, ओत, कछुवा, चितुवा, लोखर्के, खरायो, मुसा, न्याउरी मुसा, स्याल, मलसाँप्रो, बाँदर, लङ्गुर, बँदेल, रतुवा, चित्तल, निल गाई, गोही, सुन गोहोरो, छेपारालगायत विभिन्न प्रजातिहरूको महत्त्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्र पर्दछ।

चराहरूको बासस्थान रहेको घोडाघोडीमा हाल तीन सय ८० प्रजातिका चराहरू पाइन्छन्। चराहरूको महत्त्वपूर्ण बासस्थान रहेकाले यस क्षेत्रलाई विसं २०७८ फागुन २७ गते नेपालको पहिलो पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) घोषणा गरिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad