नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहान कैलालीको टीकापुरमा ‘मर्निङ वाक’मा निस्किए। अघिपछि कार्यकर्ता बीचमा प्रचण्ड हिँड्दै उनले टीकापुर बस्तीको चक्कर लगाए।
माओवादीको हुलाकी राजमार्गअन्तर्गत तराई–मधेश जागरण अभियान लिएर दाहाल सोमबार बेलुका नै कैलाली पसेका थिए। त्यो रात दाहालसहितका नेताले टीकापुरमै बिताए। गाउँमै पाकेको मिठो, मसिनो खाए।
मंगलबार दिनभर दाहालले टीकापुर लगायत कैलालीका गाउँबस्तीमा स्थानीय नेता कार्यकर्तासंग भेटघाट गर्दै उनीहरूका कुरा सुने।
टीकापुर नगरपालिका–८ सूर्यपुरमा सहिद परिवारसंग साक्षात्कार गर्दै उनीहरुसँग छलफल गरे। स्थानीयले आशा देख्दै दाहालसमक्ष आफ्ना माग सुनाए।
शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउनु पर्ने र शिक्षा भएकालाई रोजगारीको व्यवस्था गर्नु पर्ने सहिद परिवारले दाहालसंग माग गरे।
सहभागी कसैले माओवादीको सत्ता आवश्यक रहेको बताए। द्वन्द्व पीडितलाई समेटेर उनीहरूको व्यवस्था गर्नु पर्ने माग पनि उनीहरुले गरे।
दाहालले क्रान्तिमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गरेको उनीहरूलाई सुनाए। यो पटक आफू नेतृत्व सरकारले धेरै मेहेनत गरेर जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गराइएको बताए।
‘१७/८ वर्षदेखि यो कुरा के हुने हो भन्ने थियो। हामीले राष्ट्रिय सहिद घोषणा गर्न सफल भएका छौँ,’ दाहालले भने, ‘अब कसैले उल्ट्याउन सक्दैन।’
सहिद, बेपत्ता योद्धाका छोराछोरीको शिक्षाको लागि विद्यालय स्थापना गरेको, क्षतिपूर्ति प्रदान गरेको समेत उनले बताए।
दाहालले सहिदको सम्मान र पीडामा रहेका परिवारजनका समस्या हल गर्न यथाशीघ्र शान्ति, मेलमिलाप तथा सत्य निरुपणका बाँकी कार्यभार पूरा गर्नु पर्ने दायित्व बोध सबै पक्षले गर्नु जरुरी रहेको बताए।
त्यसपछि दाहाल जिल्ला समन्वय समिति कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेशको समग्र विकास, चिन्ता, चासो र सरोकार विषयक समुदायसँग संवाद कार्यक्रममा सहभागी भए। गणतन्त्र आएपछि सुदूरपश्चिम र कर्णालीको विकास आफूले गरेको उनले दाबी गरे।
कैलारी गाउँपालिका–५ बैजपुरको कार्यक्रमपछि उनी मंगलबार बेलुका कञ्चनपुर पुगेका छन्। उनलाई थारु पहिरन र सुदूरपश्चिमेली परम्परागत पहिरनमा सजिएका स्थानीयले भव्य स्वागत गरे।
उनी पुनर्वासको मोतीबस्तीमा बास बसेका छन्। बुधबार दाहाल कञ्चनपुरका विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुनेछन्। सहिद परिवारसँग भेटघाट गर्नेछन्। पुनर्वास, बेलौरी, बेलडाँडी, बेदकोट हुँदै दिउँसो सदरमुकाम महेन्द्रनगरमा सभालाई सम्बोधन गर्दै जागरण अभियान समापनको घोषणा गर्ने कार्यक्रम छ।
Shares

प्रतिक्रिया