बागमती


बागमतीका मन्त्री भन्छन्ः प्रगति नहुनुको जड कर्मचारी व्यस्थापन

बागमतीका मन्त्री भन्छन्ः प्रगति नहुनुको जड कर्मचारी व्यस्थापन

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २१:४९, काठमाडौँ

मंंगलबार (आज) बागमती प्रदेशको मन्त्रीहरूको कार्य सम्पादन समीक्षा बैठक बस्यो। बिहान ८ बजेदेखि सुरु भएको बैठक करिब १२ बजेसम्म चल्यो। प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित १४ वटै मन्त्रालयका मन्त्री, सरकारमा रहेका नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, तथा नेपाली कांग्रेसका उपनेता तथा सचेतकहरूको उपस्थितीमा बसेको कार्य सम्पादन समीक्षा बैठकले १४ वटै मन्त्रालयहरूको प्रगति प्रतिवेदन समेत सुन्यो।

गत साउनमा गठन भएको सरकारको समीक्षा बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणको संघारमा रहेका बेला ९ महिने अवधिको उपलब्धि, बजेट कार्यान्वयनको अवस्था, राजश्व संकलनको स्थिती र आगामी आवको तयारीका विषयमा चर्चा भएको थियो।

बैठकको क्रममा अधिकांश मन्त्रीहरूले कर्मचारीकै कारण कार्यसम्दान कमजोर भएको समीक्षा गरेका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि बनेको दलीय कार्यदलको आयोजनामा भएको समीक्षा बैठकमा सहभागी मन्त्रीहरूले कर्मचारी व्यवस्थापनमा समस्या हुँदा कार्य सम्पादन कमजोर भएको बताएका हुन्।

बैठकमा सहभागी मन्त्रीहरूले कर्मचारीका कारण सोचेजति प्रगति गर्न नपाइएको गुनासो गरेका हुन्। संघीय निजामती कर्मचारी हेरफेर, सचिवको सरुवा तथा लेखा अधिकृतको अभावका कारण कार्यसम्पदान कमजोर बनेको बताएका हुन्।

‘मन्त्रीज्यूहरूको प्रतिवेदन हेर्दा त्यस्तो असन्तुष्ट हुनुपर्ने आवश्यकता मैले देखिनँ,’ नेकपा एमाले बागमती संसदीय दलका सचेतक मधूसुदन पौडेलले भने, ‘पुँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा मात्रै हुने भएकोले अहिले बजेट खर्च कम भएजस्तो देखिएको मात्र हो। तर प्रगति नै भएन भन्ने चाहिँ होइन। मन्त्रालयले गरेका कामहरूमध्ये श्रम रोजगार तथा यातायात मन्त्रालयले नविनतम कार्यहरू गर्दै आएको समीक्षामा प्रस्तुत भयो। प्रदेशमै लाइसेन्स छपाईको काम गर्ने बागमती पहिलो हुन्छ। समग्रमा भन्नुपर्दा प्रदेशका सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएकै कारण सोचेजति प्रगति गर्न नसकिएको भन्ने गुनासो भने व्यापक आयो।’

त्यसोत, कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मन्त्रीहरूले आफ्नो मन्त्रालयको प्रगति सन्तोषजनक नहुनुको दोष कर्मचारीलाई दिएको बताउँछन्। उनका अनुसार बैठकमा सहभागी मन्त्रीहरूले भएका योजना कार्यान्वयन गर्न कर्मचारीहरूले ऐनमा टेकेर काम गनुपर्ने भन्दै फाइल अघि नबढाउँदा योजना कार्यान्वयनमा सकस देखिएको भन्ने गुनासो आएको पूर्वमन्त्री समेत रहेका उपनेता चित्रकारको भनाइ छ।

समीक्षा बैठकमा हालसम्म प्रदेश सरकारले सम्पादन गरेका काम कारबाही, आगामी नीति योजना, मन्त्रालयगत प्रगति र मुख्यतया बजेट सीमाका विषयमा छलफल गरिएको उपनेता चित्रकारले बताए। 

मन्त्रालयले लक्ष्य अनुरूपको राजस्व रकम उठाउन कसरी पहलकदमी चाल्न निर्देशन गरिएको उनले बताए। बैठकले चालू आर्थिक वर्षको चैत सम्ममा बागमतीमा सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष निकालेको उनको भनाइ छ।

बैठकमा केही मन्त्रीहरूले अर्थ मन्त्रालयले फाइल रोक्दा समेत कार्यसम्पादन सुस्ताएको भन्ने गुनासो गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। उनका अनुसार अर्थ मन्त्रालयले फाइल पठाउन अनेक बहाना गरेर टार्न खोज्दा काम गर्न नपाएको भन्ने गुनासो बैठकमा राखेको ती मन्त्रीले बताए। उनका अनुसार मन्त्रीहरूले सिलिङ बजेटको असतुष्टि समेत कार्यसम्पादन समीक्षा बैठकमा पोखेका थिए।

यता, बैठकले कानुनी समस्या तथा कर्मचारीका समस्याका कारण प्रदेश सरकारको प्रगति उपलब्धिमुलक नभएको निश्कर्ष निकालेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले बताउँछन्। बैठकले चालु आर्थिक बर्षको बजेट खर्चको अवस्था र खर्च नहुनुको कारण सहितको समस्या समाधानको उपाय पहिचान गरेको उनले बताए।

‘कानुनी समस्या देखि कर्मचारीको समस्याका कारण कार्यसम्पादन कमजोर बनेको बैठकको निष्कर्ष छ’ मन्त्री काफ्लेले भने, ‘मुख्य सचिव तथा सचिवहरू सरुवा भैरहने समस्या छ। त्यो समस्यालाई कसरी निराकरण गर्न सकिन्छरु भन्ने बिषयमा घनिभूत ढंगबाट छलफल भयो। बर्षदिनमा ३ जनासम्म सचिव आउजाउ गर्दा काम गर्न ढिलाई भएको भन्ने मन्त्री ज्यूहरूको तर्क रह्यो। र कार्यविधिको समस्या तथा राजश्व संकलन गर्न स्रोत सूनिश्चिताको बिषयमा पनि छलफल भयो।’

उनका अनुसार विगतका कमीकमजोरीहरूलाई आत्मासाथ गर्दै आगामी दिनमा नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको पाटोलाई व्यवस्थित र बलियो बनाएर लैजाने बिषयमा सहमती भएको छ। 

बैठकले प्रदेशको राजश्वदर बढाउन स्रोतको पहिचान गर्ने लगाएतको निष्कर्ष समेत निकालेको प्रदेशका आर्थिक मामिला मन्त्री काफ्लेको भनाइ छ।

बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित १३ वटै मन्त्रालयका मन्त्री, एमाले बागमती संसदीय दलका नेता जगन्नथा थपलिया, सचेतक मधूसुदन पौडेल, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल लगाएतको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad