नेकपा एमाले अछामको ९औँ जिल्ला अधिवेशन सुरु भएको छ।
शनिबार अधिवेशन एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेको अधिवेशनमा आजदेखि बन्दसत्र सञ्चालन हुँदै छ।
विशेष परिस्थित भन्दै एक वर्षदेखि रोकिएको एमाले अछाम अधिवेशनले माहोल तताएको छ।
नेता डा. भीमबहादुर रावल पार्टीबाट निकालिएपछि उनको गृहजिल्लामा पहिलोपटक एमाले अधिवेशन भइरहेको हो।
रावललाई एमालेले २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो।
त्यसपछि रावल मातृभूमि जागरण अभियानमा सक्रिय छन्।
अछामका थुप्रै एमाले नेता पार्टी छाडेर रावलकै अभियानमा समाहित भइरहेका छन्।
अधिवेशनबाट एमाले अछामको नेतृत्वमा पुग्न आधा दर्जनभन्दा बढी नेताले आकांक्षा देखाएका छन्।
हालका अध्यक्ष चन्द्रबहादुर बोहराले पनि फेरि पदमा दोहोरिने इच्छा देखाएका छन्।
एमालेका पालिका, जिल्ला र प्रदेशका विभिन्न कमिटीमा काम गरेका डिबी साउदले पनि अध्यक्षमा दाबी गरेका छन्।
यस्तै जिल्ला सचिव भीम रावल (कालोटोपी) लाई पनि अध्यक्षको प्रबल दाबेदार मानिएको छ।
प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर बिसी, हिरण्ड भट्टराई र जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि अध्यक्षका आकांक्षी हुन्।
सर्वसम्मत नेतृत्व चयनका लागि आकांक्षीबीच सहमतिको प्रयास पनि भइरहेको छ।
सहमति नजुटे चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिनेछ। अधिवेशनका लागि ४४६ जना प्रतिनिधि छनोट भएका छन्।
Shares

प्रतिक्रिया