सुदूरपश्चिम


९ वर्षीय छोराको सहारामा डुल्दै अगरबत्ती बेचेर गुजार गर्छन् दृष्टिविहीन दम्पती

९ वर्षीय छोराको सहारामा डुल्दै अगरबत्ती बेचेर गुजार गर्छन् दृष्टिविहीन दम्पती

गोकुल जोशी
बैशाख ७, २०८२ आइतबार २१:२, कञ्चनपुर

९ वर्षीय प्रज्वल अघि हिँड्दैछन्। ३५ वर्षीय यशोधाले एउटा हात उनको काँधमा राखेकी छन्। अर्को हातमा समातेकी छन्, झोला। पिठ्युँमा पनि अर्को झोला भिरेकी छन्। 

त्यही झोलाको तना समातेर उनीहरूको पछि पछि लागेका छन्, ४२ वर्षीय आशाराम चौधरी। उनले एक हातमा सेतो फलामे छड टेक्दै पछ्याउँदै छन्। आशारामले पनि पिठ्युँमा झोला भिरेका छन्। आशाराम र यशोधा दुवैले बोकेका झोला अगरबत्ती र बटार्ने धुपले भरिएका छन्।

श्रीमान श्रीमती रहेका उनीहरू दुवैजना जन्मजात दृष्टिविहीन हुन्। ९ वर्षीय छोरा प्रज्वलको सहायतामा गाउँ– सहर डुल्दै अगरबत्ती बेच्नमा व्यस्त छन्, उनीहरू।

महेन्द्रनगर बजारमा भेटिएका उनीहरू पसल पिच्छे चहार्दै अगरबत्तीका बारेमा बताउँदै छन्। नयाँ मान्छे देख्ने बित्तिकै झोलाबाट अगरबत्ती निकालेर देखाइहाल्छन्। 

उनीहरूले बिक्री गरिरहेको अगरबत्तीलाई रुचाएर ग्राहकले पनि किनिरहेका छन्।

छोरा प्रज्वलले दृष्टिविहीन आमाबुवालाई गाउँ–सहर डुलाउन बाटो देखाउँछन्। अगरबत्ती बेच्दा ग्राहकले दिएको पैसा चिनाउने काम पनि प्रज्वल नै गर्छन्।

उनीहरूले एक सयदेखि एक सय ५० रुपैयाँसम्मका अगरबत्ती बोकेका छन्।

‘यसरी अगरबत्ती बिक्री गर्न थालेको २ वर्ष भयो। राम्रो आम्दानी हुन्छ,’ आशाराम भन्छन्, ‘घरखर्च र छोराको पढाइ खर्च राम्रैसँग चलेको छ। मागेर हिँडनु परेको छैन। यसमै सन्तुष्ट छौँ।’

छोरा प्रज्वल कक्षा ५ मा पढ्छन्। विद्यालय बिदाको समयमा उनकै सहारामा अगरबत्ती बेच्न निस्किने गरेका छन्, चौधरी दम्पती।

‘छोराको विद्यालय भएको बेला एक्लै हिँड्नु पर्छ। अफ्ठ्यारो हुन्छ। बिदा भएको मौकाले अगरबत्ती बिक्रीमा निकै सहायता मिलेको छ,’ उनी भन्छन्, ‘महेन्द्रनगर पहिलो पटक आएको हो। राम्रो व्यापार भएको छ।’

उनकी जेठी छोरीको बिहे भइसक्यो। एक वर्षअघि छोरीलाई उनले अन्माए। छोरीको घर अहिले भीमदत्त नगरपालिका–६ मा छ।

‘छोरीसँग भेटघाट पनि भयो। यसैबीचमा व्यापार पनि गर्न पायौँ। यहाँका मान्छेले अगरबत्ती रुचाएर किन्नुभयो, अब फेरि आउँछौँ’ यशोधा भन्छिन्।

चौधरी दम्पत्तीको घर कैलालीको धनगढी उपमहानगरपालिका– १२ जुगेडा ‘ए’ गाउँ हो। उनीहरू अगरबत्ती बिक्री गर्न कैलाली र कञ्चनपुरका ग्रामीण भेगदेखि बजारसम्म पुग्छन्।

उनीहरूले बिक्री गर्ने अगरबत्ती र बटार्ने धुप काठमाडौँबाट आउँछ। त्यही बिक्री गरेबापत उनीहरूले ३० प्रतिशत कमिसन पाउँछन्। 

सबैजना जुटेर दिनमा २/३ हजारसम्मको बिक्री हुने गरेको आशाराम बताउँछन्। त्यसबाट दिनमा ७/८ सयसम्म आम्दानी हुने उनको भनाई छ।

‘आम्दानीको स्रोत यही हो। मासिक २५/३० हजार आम्दानी हुन्छ,’ आशारामले भने, ‘सबै खर्च यसैबाट चलेको छ।’

२ वर्षअघि पोखराबाट यो काम सुरु गरेको आशाराम बताउँछन्। त्यतिबेला उनी एक्लै पोखरामा अगरबत्ती बिक्रीको काम गर्थे। बिस्तारै काम सिक्दै गएपछि उनी पोखरा मात्रै नभएर काठमाडौँ समेत पुग्न थाले। 

३ महिना त्यहाँ काम गरेपछि फर्केर घर नजिकैको गाउँ बजारमा काम गरिरहेको आशारामको भनाइ छ।

अगरबत्ती र बटार्ने धुप बिक्रीको काम गर्नुअघि सामाजिक सुरक्षा भत्ताकै भरमा गुजारा चलाउनु पर्ने बाध्यता थियो। भत्ताले मात्रै खान लाउन र छोराछोरीको खर्च चलाउन नसकेपछि डुलेरै भएपनि अगरबत्ती बेच्न काम गरिरहेको आशाराम बताउँछन्।

‘हामीले त आँखा देख्न पाएनौँ। छोराको त्यस्तो नहोस्, लेखपढ गरेर ठूलो मान्छे बनोस्,’ उनी भन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad