सुदूरपश्चिम


थारु बस्तीमा माघीको रौनक, यसरी गरिँदैछ तयारी

थारु बस्तीमा माघीको रौनक, यसरी गरिँदैछ तयारी

गोकुल जोशी
पुस २६, २०८१ शुक्रबार १६:४२, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ राजीपुरकी मिनादेवी चौधरीले सालको पातको दुना टपरी बनाइसकिन्। माटोको जोहो गरेर कच्ची घर लिपपोत गर्ने तयारी गरिरहेकी छिन्।

थारु खान्की तयार गर्न मिलमा खाद्यान्न कुटान पिसाइ गरेर घरमा राखिसकेकी छन्। माघी नजिकिएसँगै त्यसको तयारीका लागि चौधरीको दैनिक व्यस्तता बढेको हो।

‘अब एक दुई दिनमा घर लिपपोत सकिन्छ। मासुको लागि बंगुरको खोजी पनि भइरहेको छ’, चौधरीले भनिन्, ‘दुना टपरी र कुटानी पिसानी गर्ने काम गरिसकिएको छ।’

उनका अनुसार माघीको एक हप्ता अघि नै नजिकैको जंगलबाट सालको पात सङ्कलन गरेर दुना टपरी बनाउन थालिन्छ। माघीमा त्यही दुना टपरी थारु परिकारका खान्की राख्नलाई प्रयोग गरिन्छ।

‘आजभोलि सालको पात खोज्न पनि मुश्किल पर्छ। माथि चुरे नै पुग्नुपर्छ। गाउँका महिला सामूहिक रुपमा गएर दुना टपरीका लागि पातको जोहो गर्छौं’, उनले भनिन्, ‘दुना टपरी बनाउन तीन/चार दिन लागिहाल्छ।’

माघी नजिकएसँगै थारु बस्तीका स्थानीय तयारीमा जुटेका हुन्। थारु समूदाय हाल घर लिपपोत गर्न, दुना टपरी, जाँड रक्सी बनाउन, दाउरा, बंगुरको जोहो तथा ढिक्री लगायत परिकार बनाउन कुटानी पिसानीमा व्यस्त छन्।

राजीपुरकै स्थानीय सीमा डगौँराका अनुसार माघीको एक हप्ता अघि नै जाँड तयार पारिन्छ। माघीमा टाढा टाढा रहेका आफन्त र इष्टमित्र आउने गर्छन्।

थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघीलाई नयाँ वर्षका रुपमा मनाइन्छ।

‘जाँड बनाइसक्यौँ। अब बंगुर मात्रै खोज्न बाँकी छ’, उनले भनिन्, ‘माघीमा खानपिन गर्दै रमाइलो गरिन्छ।’

थारु अगुवा लप्टन डगौँराका अनुसार माघीमा वर्षभरीको योजना बनाउने, घर छुट्टिनेदेखि बडघर छान्नेसम्म काम पनि हुन्छन्।

माघीको पहिलो दिन बिहानै उठेर नजिकैको खोला, ताल तलाउमा गएर नुहाइन्छ। त्यसपछि देउता पुज्ने र अग्रजबाट आर्शिवाद लिने चलन छ।

काम तथा पढाइको शिलशिलामा घरबाट टाढा टाढा रहेकाहरू पनि माघीमा घर फर्कने गर्छन्। बिहे गरेका छोरी माइती आएर भेटघाट गर्ने प्रचलन पनि रहिआएको छ।

कुखुरा, बंगुरको मासु, माछा, ढिक्री, जाँड लगायत परम्परागत थारु खान्की तयार पारेर माघीमा खाने गरिन्छ। माघीमा परम्परागत थारु पहिरन पहिरिएर घर घरमा गएर मघौटा नाच नाच्ने गरिन्छ। विभिन्न ठाउँमा माघी मिलन कार्यक्रम समेत आयोजना गरेर थारु संस्कृति झल्किने नृत्य प्रस्तुत समेत गर्ने गरिएको छ।

‘नयाँ पुस्ताले संस्कृति बिर्सिंदै गएका छन्। अहिले परम्परागत पहिरन लगाउनै छोडे’, सुरज चौधरीले भने, ‘त्यसैले संस्कृति जर्गेना गर्दै पुस्तान्तरणका लागि थारु पहिरनमा मघौटा नाच देखाउने जमर्को गर्दैछौँ।’

परिवारका सदस्य, आफन्त, इष्टमित्र भेला भएर हर्षोल्लासका तीन/चार दिनसम्म माघी मनाइने गरिएको थारु अगुवाको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad