सुदूरपश्चिम


८४ वर्षका रामस्वरूप: साइकलमा गाउँ डुल्दै गर्छन् डोरीको व्यापार

८४ वर्षका रामस्वरूप: साइकलमा गाउँ डुल्दै गर्छन् डोरीको व्यापार

रामस्वरूप राना


नेपालखबर
पुस १६, २०८१ मंगलबार २१:२३, वेदकोट (कञ्चनपुर)

चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, कञ्चनपुरको वेदकोट नगरपालिका-१०, दैजीका रामस्वरूप राना। 

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दिनचर्या हो। ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन। उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन्।

‘छोराहरू बेरोजगार छन्। खेतीपाती गर्न जमिन छैन। बिहान-बेलुका के खाउँ भन्ने अवस्था छ,’उनले भने, ‘डोरी बेचेरै पेट पालिएको छ।’

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरूप रु एक सय दिन्छन्। फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायतका प्लास्टिक सङ्कलन गर्छन्। 

भीमदत्त र वेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन्। उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन्।

ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ। चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,’उनले भने,

‘आकारअनुसार फरक फरक दरमा बेच्छु। दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ।’

सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ। प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन्।

रामस्वरूपका दुई छोरा छन्। उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितिन्। कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन्।

‘काम नगरी खान पुग्दैन। डोरीको व्यापारले जीवन धानिएको छ,’ उनले भने, ‘बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad