सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री हेरफेर भएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने २ राज्यमन्त्रीसहित ५ मन्त्री हेरफेर भएका हुन्।
नेपाली कांग्रेस संसदीय दलभित्र दल नेताबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई हटाउने कसरतसँगै चर्किएको आन्तरिक विवाद मन्त्री हेरफेरमा टुंगिएको हो।
सहमतिअनुसार शाह इतर समूहका सांसदलाई पनि सरकारमा सामेल गराइएको छ।
सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी र राज्यमन्त्रीमा जुना दानी नियुक्त भएका छन्। दानी शाह इतर समूहकी सांसद हुन्।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकासमन्त्रीमा बेलबहादुर रानामगर र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारती नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले सोमबार बेलुका पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसको मन्त्रीको ‘सेट’ नै फेरिएको हो। बहादुर थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाश बम राज्यमन्त्रीबाट बिदा भएका छन्।
सत्ता साझेदार नेकपा एमालेभित्र भने मन्त्री फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। कांग्रेसले मन्त्री फेर्ने भएपछि एमालेले पनि पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सांसदलाई मौका दिने तयारी गरेको थियो।
सोहीअनुसार नयाँ मन्त्रीहरूको नाम पनि मुख्यमन्त्री कार्यालयमा पुर्याइएको थियो। तर अन्तिममा सोमबार अध्यक्ष केपी शर्मा ओलीले मन्त्री नफेर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको हो।
असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र तालाबन्दी गरेका छन्।
Shares

प्रतिक्रिया