चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
गैंडाको आक्रमणबाट मृत्यु हुनेमा रत्ननगर नगरपालिका १६ की ६८ वर्षीया कृष्णकुमारी थापा रहेकी छन्। थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। थापाका श्रीमान् डम्बरबहादुर थापा समेत गैंडाको आक्रमणबाट घाइते भएका छन्।
सोही गैंडाले मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाइते बनाएको सो गैंडाले दिउँसो रत्ननगर पुगेर थापालाई आक्रमण गरेको हो। ज्यामिरेमा घाइते हुनेमा ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत छन्।
यस्तै, अन्य घाइते हुनेहरुमा रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ७२ का चेतनाथ चौलागाई, वर्ष ३९ की सीता पोख्रेल, वर्ष २५ को पुजन विक र रत्ननगर१४ बस्ने वर्ष ६० की मिना गुरुङ छन्।
घाइतेहरूको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको सो गैंडाले पौष १३ गते राप्ती नगरपालिकाको अमिलिपानी सामुदायिक वन क्षेत्रमा २ जनालाई घाइते बनाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए। यो सहित एउटै गैंडाको आक्रमणबाट ९ जना घाइते भएका हुन्।
मंगलबार विहान खैरहनी क्षेत्रमा देखापरेको गैंडा हाल रत्ननगर नगरपालिका ९ मा रहेको मिलिजुली सामुदायिक वनमा प्रवेश गरेको थापामगरको भनाई छ।
Shares

प्रतिक्रिया