सुदूरपश्चिम


मदिरा नदिएको झोकमा मध्यरात दम्पतीको हत्या

मदिरा नदिएको झोकमा मध्यरात दम्पतीको हत्या

गोकुल जोशी
मंसिर २०, २०८१ बिहिबार २०:३७, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि एक जनालाई पक्राउ गरेको छ।

स्थानीय ५० वर्षीय गंगाराम रानालाई प्रहरीले हत्या आरोपमा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरीसमक्षको प्रारम्भिक बयानमा हत्या गरेका स्वीकारेका छन्।

कार्तिक ८ गते राति विनवारीका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको थियो। अर्को दिन बिहान उनीहरुको घरमै शव भेटिएको थियो।

विनवारीको संयुक्त घरबाट दम्पती करिब दुई किलोमिटरको दूरीको घरमा बस्थे। उनीहरुले त्यहाँ मदिरा र मासु पसल पनि सञ्चालन गर्थे।

बीभत्स तरिकाले हत्या गरिनुअघि बडायक दम्पतीले केही दिनअघि बैंकबाट साटेको २ लाख ४३ हजार भने घरमै भेटिएको थियो।

बडायक दम्पती हत्यामा पक्राउ परेका रानाको पसल नजिकै घर छ। बुधबार पक्राउ परेका रानालाई बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ।

‘मैले नै हत्या गरेको हुँ भनेको छ। अदालतमा पनि अपराध स्वीकारेको छ,’ डीएसपी जोशीले भने, ‘हत्यामा प्रयोग भएको हतियार बरामद भएको छैन।’

रानाले प्रहरीसमक्ष दिएको बयान अनुसार कार्तिक ८ गते उनले अन्यत्रै मदिरा सेवन गरेका थिए। राति करिब ११/१२ बजेतिर फेरि मदिराका लागि बडायक कहाँ पुगे। तर बडायकले मदिरा दिएनन्।

‘दुई झापड हान्यो। गालीगलौज गर्‍यो। आवेग आएर त्यहीँ भएको काठको चिर्पटले बडायकलाई हानेँ,’ रानाले प्रहरीसमक्ष भनेका छन्, ‘उनी त्यहीँ ढले। श्रीमती चिच्याएर गाली गर्न थालिन्। त्यसपछि उनलाई हानेर त्यहाँबाट भागेँ। चिर्पट कहाँ फालेँ थाहा छैन।’

मदिरा सेवन गरेर राना राति हिँड्ने गरेका थिए। उनलाई प्रहरीले यसअघि पनि सोधपुछ गरेको थियो। तर उनले घटनास्थलमा आफू नगएको बताए।  त्यो राति कहाँ थियो भनेर स्पष्ट बताउन पनि सकेका थिएनन्।

सोधपुछको क्रममा उनको बयानमा शंका लागेपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। दोस्रो पटक सोधपुछको क्रममा रानाले अपराध स्वीकारेको प्रहरीले जनाएको छ।

रानालाई नियन्त्रणमा लिएर उनीबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ। हत्यामा प्रयोग गरेको हतियार पनि खोज्ने काम भइरहेको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी केही साता लालझाडी नै खटिएका थिए।

प्रहरीले डेढ महिनापछि अभियुक्तलाई पक्राउ गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad