सुदूरपश्चिम


दार्चुला दुर्घटना: जात्राबाट फर्किरहेका पति-पत्नी बिते, ८ वर्षका छोरा घाइते

शैल्यशिखर नगरपालिकाका कर्मचारी थिए वीरेन्द्र
दार्चुला दुर्घटना: जात्राबाट फर्किरहेका पति-पत्नी बिते, ८ वर्षका छोरा घाइते

फाइल तस्बिर : वीरेन्द्र रावल र उनकी पत्नी


गोकुल जोशी
कात्तिक ३०, २०८१ शुक्रबार ९:५४, कञ्चनपुर

दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल परिवारका साथ बिहीबार बेलुका मालिकार्जुन जात्रा हेर्न पुगे। साथमा २८ वर्षीया श्रीमती शान्ति र ८ वर्षीय छोरा सन्दीप पनि थिए।

मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा जात्रा लागेको थियो। मालिकार्जुन मन्दिरमा प्रत्येक वर्ष रात्रिकालिन जात्रा लाग्ने गर्छ। जिल्लाकै प्रसिद्ध जात्रामा भारतबाट पनि भक्तजन आउने गर्छन्।

जात्रामा पूजाआजा, दमाहा बजाउने, देउडा खेल्ने र भजन गाउने गरिएकाले रमाइलो थियो। त्यसमा वीरेन्द्रको परिवार पनि सामेल भयो।

तर जात्राको उल्लास धेरै बेर टिक्न पाएन। घर फर्किने क्रममा वीरेन्द्रको परिवार पनि सवार जिप दुर्घटनामा पर्‍यो। जसमा वीरेन्द्र र उनकी श्रीमतीको मृत्यु भयो। 

उनीहरूका ८ वर्षीय छोरा सन्दीप घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको गोकुलेश्वर अस्पालमा उपचार भइरहेको छ। दुर्घटनामा वीरेन्द्रका छिमेकी प्रकाश रावल पनि घाइते भएका छन्।

वीरेन्द्र शैल्यशिखर नगरपालिकाका कर्मचारी थिए। उनी ६ वर्षदेखि करारमा अमिन पदमा कार्यरत थिए। शैल्यशिखर नगरपालिका-५ का अध्यक्ष जनकबहादुर डाँगाका अनुसार वीरेन्द्र दुइ भाइमध्ये जेठा हुन्।

जिप दुर्घटनामा दुई भारतीयसहित अन्य ६ जनाले पनि ज्यान गुमाएका छन्। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार दुर्घटनामा रावल दम्पतीसहित भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको हो।

जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह घाइते भए।
टाउको चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा दुर्घटना भएको हो।

१३ यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad