समाज


काठमाडौँको फोहोर व्यवस्थापनमा हामी एक कदम अघि बढ्यौँ: मेयर बालेन

प्रतिस्पर्धाबाट फोहोर उठाउन पाउने अदालतको फैसलापछि बालेनले दिए यस्तो प्रतिक्रिया
काठमाडौँको फोहोर व्यवस्थापनमा हामी एक कदम अघि बढ्यौँ: मेयर बालेन

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १०:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको फोहोर व्यवस्थापनको लागि पाटन उच्च अदालतले गरेको आदेशप्रति खुसी व्यक्त गरेका छन्। 

बिहीबार पाटन उच्च अदालतले काठमाडौँ महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन पाउने आदेश गरेपछि मेयर बालेनले आज सामाजिक सञ्जालमार्फत अदालतको आदेशले काठमाडौँको फोहोर व्यवस्थापनमा रहेको अवरोध पाखा लागेको प्रतिक्रिया दिएका हुन्।।

काठमाडौँ महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन खोज्दा नेपवेस्ट नामको संस्थाले अदालतमा मुद्दा दायर गरेको थियो। 

तर, उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन पाउने आदेश गरेको छ।

काठमाडौँ महानगरले फोहोर संकलन र ढुवानीका लागि अघि बढाएको ठेक्का प्रक्रिया रोक्न अदालतले अस्वीकार गरेपछि मेयर बालेनले फोहोरको दिगो व्यवस्थापनमा महानगर अब एक कदम अघि बढेको प्रतिक्रिया दिएका हुन्। 

हेर्नुहोस् सामाजिक सञ्जालमा मेयर बालेनको प्रतिक्रिया

हामीले चुनाव पहिले काठमाण्डौँको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ। आफ्ना योजना सुनाएका थियौँ। निर्वाचित भएपछि त्यहीअनुसार हामीले धेरै विकल्पहरू हेर्‍यौँ। धेरै देशको व्यवस्थापन हेर्‍यौँ ।पुराना, नयाँ प्रविधि हेर्‍यौँ ।नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ।हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो।तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ।त्यहाँका असफलता नि हेर्‍यौँ। त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ। फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमुना थियो। हामीले इन्दोरको मोडल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एक वर्षदेखि परामर्शदाताका रूपमा निकट भएर काम गरिरहेका छौँ।केही पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नुभएको थियो। अनि काठमाडौँबाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ। तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानुन नै थिएन। 

हामीले कानुन बनायौँ। अनि त्यसको कार्यान्वयनतिर लाग्यौँ। तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो। त्यही पनि हामीले केही वडाबाट पाइलट प्रोजेक्ट सुरू गर्‍यौँ। फोहोरलाई वर्गीकरण गर्ने वडाहरूमा सफलतापूर्वक काम हुँदै छ भने अर्गानिकलाई मल बनाउने काम पनि हुँदै छ। हामीले सही र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ। तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो। त्यो कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलोपटक थिएन। राज्यको सबै स्रोतसाधन प्रयोग गरेर गरैकानुनीरूपमा अर्बौं कमाउने उक्त कम्पनीको स्वार्थ सधैँ हाबी रह्यो। यतिसम्म कि प्रचण्ड प्रधानमन्त्री हुँदा चीन जाँदासमेत उक्त कम्पनीबारे चर्चा भएको थियो। एकपटक त्यही कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यही कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो। मैले त्यसमा सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन। नेताज्यूहहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाडौँको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप। संघीय सरकारले फोहोरको स्थायी समाधान गर्नेभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो। हाम्रो अधिकारमाथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो। 

संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाडौँको फोहोरमा एकाधिकार लाद्ने र कहिल्यै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिकरूपमा नै तोड्न क्रियाशील छौँ। यसैले हामीले सही र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्डअनुसार टेन्डर गरेका थियौँ। त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो। तर, सम्मानित अदालतले यो अधिकार काठमाडौँ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौँको फोहोर व्यवस्थापनमा रहेको एक खालको अवरोध पाखा लागेको छ।फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ। अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्।तर हामी रोकिने छैनौँ। फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ।

हामी स्पष्ट छौँ, काठमाडौँको फोहोरको दिगो समाधान सम्भव छ। यो काठमाडौँवासीको अधिकारको कुरा हो। हामीले फोहोर थुपारेर वर्षौँदेखि अन्याय गरिरहेको सिसडोल र बञ्चरेडाँडालगायत स्थानका पीडितहरूको न्यायको कुरा हो। यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो। हामी समस्या समाधानको बाटोमै छौँ। अवरोध अझै आउन सक्छन् तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडि बढ्नेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad