ad ad

सुदूरपश्चिम


गृहमन्त्री लेखकलाई गृहनगरकी निर्मला पन्तका अपराधी पत्ता लगाउन चुनौती

गृहमन्त्री लेखकलाई गृहनगरकी निर्मला पन्तका अपराधी पत्ता लगाउन चुनौती

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको घर र इन्सेटमा निर्मला


गोकुल जोशी
साउन १०, २०८१ बिहिबार १७:२९, कञ्चनपुर

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ। तर अहिलेसम्म अपराधी पहिचान हुन सकेको छैन।

१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।

६ वर्षको अवधिमा देशले ५ गृहमन्त्री र त्यति नै प्रहरी प्रमुख पायो। तर अपराधी पहिचान गरेर कानूनी दायरामा ल्याउन नसक्दा निर्मलाले भने न्याय पाउन सकेकी छैनन्।  

छानबिनका लागि विभिन्न समिति मात्रै बनेनन् अनुसन्धानमा थुप्रै प्रहरी अधिकृत खटिएपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेन।

निर्मलाको न्यायको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाले ज्यानै गुमाए। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।

अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्।

यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयान लगायत सूक्ष्म अनुसन्धान गरिसकेको छ। तर पनि अपराधीको छेउछाउ पनि अनुसन्धान पुग्न सकेको देखिँदैन।

सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टीमले कञ्चनपुरमै सक्रिय भएर अनुसन्धान गर्‍यो। तर पछिल्लो समय भने सीआइबी टीम कञ्चनपुरमा छैन।

सीआईबी काठमाडौँबाटै घटनाको अनुसन्धानमा सक्रिय रहेको छ। यसबाहेक जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टीमले निरन्तर घटनाको अनुसन्धान जारी राखेको छ।

गृहमन्त्री रमेश लेखक

गृहमन्त्री लेखकलाई चुनौती
निर्मलाको हत्या घटना हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए। त्यसपछि कांग्रेसका बालकृष्ण खाँड हुँदै रवि लामिछाने गृह मन्त्रालयको नेतृत्वमा पुगे।

पहिलो पटक गृहमन्त्री बन्दा लामिछानेले निर्मला हत्या काण्डका अपराधी पत्ता लगाएर कानूनी दायरामा ल्याउने पहिलो निर्णय नै गरेका थिए। तर उनी दोस्रो पटक गृहमन्त्री बनेर बाहिरिँदा पनि घटना निष्कर्षमा पुगेको छैन।

माओवादीका नारायणकाजी श्रेष्ठपछि दोस्रो कार्यकाल लामिछानेले सम्हालेको गृह मन्त्रालयको नेतृत्व गर्न अहिले फेरि कांग्रेसका रमेश लेखक पुगेका छन्।

लेखक निर्मलाको न्यायको निम्ति भएको सडक आन्दोलनमा सहभागी भएका थिए। बलात्कारको सिकार बनेकी निर्मला लेखककै निर्वाचन क्षेत्रकी चेली हुन्।

आन्दोलनका बेला हत्याराले संरक्षण पाइरहेको भन्दै प्रश्न उठाउने लेखक अहिले अनुसन्धान गर्ने प्रहरी प्रशासन चलाउने गृह मन्त्रालयको नेतृत्वमा पुगेका छन्।

अब लेखकलाई निर्मला हत्याकाण्डको अपराधी कानुनी कठघरामा ल्याउनुपर्ने चुनौती छ।

लामिछानेले गृहमन्त्रालय छोड्दै भनेका थिए, ‘निर्मला पन्त घटनाको अनुसन्धानमा अत्यन्तै नजिक पुगेका छौँ।’

६ वर्ष बितिसक्दा पनि निर्मलाले न्याय नपाउँदा आमा दुर्गादेवी पन्तले अब न्याय पाउने आश मारिसकेकी छन्।

‘पालो पालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइनन्। सरकारले चाह्यो भने अपराधी पत्ता लाग्छ,’ उनी भन्छिन्, ‘सबैले आश्वास मात्रै दिए। अब न्याय पाउने आशै मरिसक्यो।’

दुर्गादेवी पन्त

के गर्दैछ प्रहरी?
निर्मला प्रकरणको अनुसन्धानका क्रममा ६ वर्षको अवधिमा प्रहरीले शंकास्पद १२४ जनाको डीएनए परीक्षण गरेको छ। शंकास्पद ६५५ जनामाथि सोधपुछ गरेको छ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरीलगायत १२४ जनाको डीएनए परीक्षण गरियो। तर रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मिलेन।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ४९ जनाको घटना विवरण कागज गरिएको छ। गत जेठमा एक जनाको घटना विवरण कागज गरिएको थियो।

‘घटनाको गहिरो तरिकाले अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको छ। निष्कर्षमा पुगिसकेका छैनौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘डीएनएको च्याप्टर लगभग सकिएको जस्तो छ। ह्युमन इन्टेलिजेन्सबाट अध्ययन, अनुसन्धान गर्नु पर्ने भएकाले सोहीअनुसार हामी अगाडि बढेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .