पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका एक व्यवसायीका परिवारका सदस्य पनि परेका छन्।
यहाँका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्।
व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन्। उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए।
पोखरामा उनीहरुका नातेदार बस्छन्। आफन्तहरुसंग भेटघाटका साथै पोखरा घुम्न उनीहरु गइरहेका थिए। व्यवसायी भट्ट पोखरा घुम्नका लागि पुस २८ मा पोखरा पुगेका थिए।
पोखरामा रहेका आफन्तले घुमघामका साथै माघे संक्रान्ति संगै मनाउन उनीहरुलाई पनि पोखरा बोलाएको भट्टका भाइ पदम पाठकले नेपालखबरलाई बताए।
‘माघी मनाएर पोखराबाट सँगै काठमाडौं फर्किने योजना थियो’, पाठकले भने, ‘भाउजू र भतिजाहरु काठमाडौंमै बस्छन्, दाइ पनि त्यहाँबाट पोखरा जानुभएको थियो।’
उनका अनुसार व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए।
भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन्। अर्की छोरी आईटी इन्जिनियर हुन्। उनी काठमाडौंमै काम गर्छिन्।
भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्द्रनगर बजारमा पशुपति इम्पोरियम छ। भट्टले कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुई पटक प्रतिस्पर्धा गरेका थिए।
व्यवसायीको परिवार जहाज दुर्घटनामा परेपछि महेन्द्रनगरका व्यवसायीहरु समेत चिन्तित बनेका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी व्यवसायी ठूलो शोकमा परेको बताए।
यो पनि :
प्रतिक्रिया